आजदेखि बजारमा आलुको कारोबार शुरु, प्याजको अभाव कायमै

आजदेखि बजारमा आलुको कारोबार शुरु, प्याजको अभाव कायमै

काठमाण्डौ : चार दिनदेखि ठप्प भएको आलु प्याजको खरिद-बिक्री आजबाट सुरू भएको छ।

आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार सुरू भएको हो।

हिजो आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने सूचना निकालेको थियो।

यो सूचना आएपछि आजदेखि कारोबार खुलाइएको आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले जानकारी दिए।

चार दिन पछि आज बजार खुलेकाले माग अनुसारको आलु भित्रिएको छैन। आज ६० देखि ७० टन आलुको कारोबार हुने अनुमान छ।

आलुको सिजन भएकाले भोलिदेखि माग अनुसारकै कारोबार हुने अनुमान छ। गजुरेलका अनुसार बजारमा प्याजको भने अभाव छ। नेपालमै उत्पादन हुने अनुकुल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ।

भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन्। यसले गर्दा बजारमा प्याज महँगो छ।

मंसिर २३, २०८० शनिबार १२:१९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।