गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले प्रयोग गर्यो भिटो, बेलायत अनुपस्थित

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले प्रयोग गर्यो भिटो, बेलायत अनुपस्थित

एजेन्सी : गाजामा तत्काल युद्धविरामको प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गरेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा अमेरिका यस प्रस्तावको विपक्षमा मतदान गर्ने एकमात्र स्थायी सदस्य हो। राष्ट्रसंघको अर्को स्थायी सदस्य बेलायत अनुपस्थित रह्यो भने फ्रान्सले पक्षमा मतदान गर्यो।

अमेरिकाले भिटो लगाउनेबित्तिकै युद्धविरामको प्रस्ताव बैठकमा विफल भएको छ।

राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा १० निर्वाचित सदस्य र पाँच स्थायी सदस्य छन्। पाँच स्थानीय सदस्यमा चीन, अमेरिका, बेलायत, फ्रान्स र रुस रहेका छन्।

यी पाँचमध्ये कुनै एक देशले भिटो प्रयोग गरेमा कुनै पनि प्रस्ताव त्यहाँबाट पारित हुन सक्दैन। भिटो परिषद्को ऐनले स्थायी सदस्यलाई दिएको एक शक्तिशाली अधिकार हो।

अमेरिकाले महासंघका महासचिव एन्टेनियो गुटेरेसको यो प्रस्तावलाई हतारको प्रस्तावको संज्ञा दिँदै यसका लागि उचित सल्लाहको आवश्यक रहेको बताएको छ।

प्रस्तावमा हमासले इजरायलमाथि ७ अक्टोबरमा गरेको आक्रमणको निन्दा नगरिएको अमेरिकाको तर्क छ।

उसको प्रतिनिधिले सुरक्षा परिषद्मा भने, ‘७ अक्टोबरमा हमासले जे गर्यो, त्यसलाई कुनै पनि देशले सहन सक्दैन वा सहनु हुँदैन।’

प्रस्तावको सबैभन्दा अवास्तविक र अनौठो विषय ‘विना शर्त युद्धविराम’को अपिल गर्नु हो। यसो गर्दा हमास पुनः ७ अक्टोबरको अवस्थामा आउने र आक्रमण गर्ने ती प्रतिनिधिको भनाइ छ।

ती प्रतिनिधिले भने, ‘हाम्रा सबै सिफारिसहरूलाई बेवास्ता गरियो। वास्तविकता भन्दा पर रहेर गरिएको यो निर्णय असन्तुलित समाधान हो। यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन।’

हरेक दुई वर्षमा हुने साधारण सभाबाट स‌ंयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का दश सदस्य राष्ट्र चुनिन्छन्। अहिले सुरक्षा परिषद्का निर्वाचित सदस्यमा अल्बानिया, ब्राजिल, इक्यूडर, गबोन, घाना, जापान, माल्टा, मोजाम्बक, स्विट्जरल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

मंसिर २३, २०८० शनिबार ०९:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।