रोनाल्डोलाई नेपाल ल्याउने कार्ययोजनासँगै पोर्चुगलको राजदूत सिफारिस नेपालको नाम अनुमोदन

रोनाल्डोलाई नेपाल ल्याउने कार्ययोजनासँगै पोर्चुगलको राजदूत सिफारिस नेपालको नाम अनुमोदन

काठमाडौँ : पाल्पाका सनिल नेपाल पोर्चुगलको राजदूतमा संसदीय सुनुवाइ समितिको बैठकबाट अनुमोदित भएका छन्।

मन्त्रिपरिषद्ले कात्तिक २३ गते पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णयसँगै पहिलो राजदूतको रूपमा नेपाली कांग्रेस निकट नेपालको नाम सिफारिस गरेको थियो। विभिन्न दातृ निकायहरूमा विकास परामर्शदाताका रूपमा सक्रिय उनको नाम शुक्रवार सर्वसम्मतिले पारित भयो।

सरकारले सिफारिस गरेसँगै संसदीय सुनुवाइ समितिले उनी विरुद्ध मागेको उजुरीमा एउटा उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजनाहरुमा त्यहाँ रहेका नेपालीलाई नेपाल फर्काउन पहल गर्नेदेखि लिएर फुटबलका चर्चित खेलाडी रोनाल्डोलाई नेपाल ल्याउनेसम्मका योजना पेस गरेका थिए।

युरोपियन मुलुकको राहदानी पाउने लोभमा पोर्चुगलमा नेपालीहरू कृषि कामदारका रूपमा जाने गरेका छन्। नेपालले संसदीय समितिको बैठकमा नेपाली खेलाडीलाई पोर्चुगलको भ्रमण गराउने, नेपालमा पोर्चुगलको पर्यटक बढाउने, कृषिमा प्रशिक्षार्थी कामदार लैजाने लगायतका कार्य योजना पेस गरेका थिए।

मंसिर २२, २०८० शुक्रबार २१:०८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।