शेयर बिक्रीको पक्षमा एनसेल ट्रेड युनियनले निकाल्यो विज्ञप्ति
काठमाडौँ : एनसेल कर्मचारी ट्रेड युनियनले शेयर विवादमा एनसेल आजियाटाको व्यवस्थापकको पक्षमा वकालत गर्दै सामाजिक सञ्जालका प्रयोगकर्ता र सञ्चारमाध्यमलाई गाली गर्दै विज्ञप्ति निकालेको छ।
युनियनका अध्यक्ष सुकान्त अधिकारी र महासचिव विजय राज महतले हालै कम्पनीको ८० प्रतिशत शेयर बिक्रीमा समर्थन गर्दै विज्ञप्ति निकालेका हुन्।
विज्ञप्तिमा ‘करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्री प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्यावसायिक वातावरणलाई नै हतोत्साही गर्ने कुण्ठित मनसायले ओतप्रोत भई अनर्गल प्रचारबाजी भएको उल्लेख गरिएको छ।
शेयर खरिद विक्री प्रक्रिया शङ्कास्पद रहेको भन्दै छानबिनका लागि सरकारले समिति गठन गरिसकेको छ। उच्च अदालत पाटनले तत्काल शेयर खरिद/विक्री प्रक्रिया यथास्थितिमा राख्न अन्तरकालिन आदेश दिइसकेको छ भने संसद्को सार्वजनिक लेखा समिति र अर्थ समिति अध्ययनमा छ।
शेयर खरिद बिक्रीबारे नेपालको प्रचलित कानुन पालना नगरी भएको खरिदबिक्रीलाई एनसेलको ट्रेड युनियनले ‘कुनै कम्पनीको शेयर खरिद बिक्री हुनु सामान्य प्रक्रिया रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक नै रहेको’ उल्लेख गरेको छ।
एनसेल नेपाली पब्लिक लिमिटेड कम्पनीका रूपमा यथावत् रहेको र शेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन र सेवा सञ्चालनमा कुनै फरक नपरेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीमा स्पेक्ट्रलाइट युके लिमिटेडमार्फत नेपाली मूलका लगानीकर्ता भित्रिएसँगै कर्मचारी नयाँ जोस र जाँगरका साथ अगाडि बढ्ने र नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट युकेलाई स्वागत गर्ने विज्ञप्तिमा उल्लेख छ।
कम्पनीको शेयर होल्डिङ् परिवर्तनलाई एनसेल कम्पनी नै नेपालमा छैन जत्तिकै गरी कम्पनीकै व्यावसायिक छविमाथि आँच आउने गरी प्रचारबाजी भएको ट्रेड युनियन नेताको दाबी छ।
कर्मचारी ट्रेड युनियनले जारी गरेको विज्ञप्तिमा कम्पनीले तिरेको कर र नेपालको सामाजिक र आर्थिक विकासमा गरेको योगदान लगायतका विवरणहरू समेत समावेश गरिएको छ।
विगतमा पनि कम्पनीको शेयर स्वामित्व परिवर्तन भएको र नेपालको कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने कर तथा विभिन्न समयमा अदालतले तोके बमोजिमका कर भुक्तानी गरेको उल्लेख गर्दै ट्रेड युनियनको विज्ञप्तिमा ‘नेपालको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको एनसेलले स्थापना पश्चात् हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब भन्दा बढी कर तथा शुल्कहरू भुक्तानी गरी सकेको’ उल्लेख छ।
ट्रेड युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हामी तपाईँकै लागि’भन्ने नारालाई सार्थकता दिँदै आएको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।‘
देशकै सामाजिक, आर्थिक तथा सञ्चारको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सिर्जना हुने गरि बदनाम गर्न सम्बन्धित निकायमा गएर नबुझी, सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धमिल्याउने गरी उछितो काढ्नु निन्दनीय’ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एनसेलको ट्रेड युनियनले एनसेलको शेयर बिक्रीबारे भएका प्रचारबाजी सरकारले गठन गरेको छानबिन समितिलाई प्रभावमा पार्नदेखि सरकारले वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई नै असफल बनाउने उद्देश्यसम्म लगेर विज्ञप्तिमा जोडिएको छ।
मंसिर २२, २०८० शुक्रबार १९:००:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।