नियतवश कर्जा नतिर्ने र नतिर्न उक्साउनेविरुद्ध कडा नीति लिने गभर्नर अधिकारीको चेतावनी

नियतवश कर्जा नतिर्ने र नतिर्न उक्साउनेविरुद्ध कडा नीति लिने गभर्नर अधिकारीको चेतावनी

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले समस्यामा परेका ऋणीको हकमा लचिलो नीति लिए पनि नियतवश ऋण नतिर्ने र नतिर्न उक्साउनेप्रति कडा नीति लिने चेतावनी दिएका छन्।

मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले असल नियत हुँदाहुँदै ऋण तिर्न समस्यामा परेका ऋणीका हकमा सहजिकरणको व्यवस्था गरिएको भन्दै उनले नियतवश ऋण नतिर्ने र नतिर्न उक्साउनेहरूको हकमा भने कडा नीति अपनाएर असुल्ने बताए।

‘कोही ऋणीहरू परिस्थितिजन्य कारणले समस्यामा परेका छन् भने त्यस्ता ऋणीहरूलाई कर्जाको पुनः संरचना र पुनःतालिकीकरणका लागि सहजिकरण गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने ‘नियतवश कर्जा नतिर्ने र नतिर्न उक्साउनेप्रति कडा भएर प्रस्तुत हुन्छौ। कारबाही प्रभावकारी बनाउँछौँ।’

उनले बजारमा कर्जा प्रवाह कम भएकाले ब्याजदर कोरिडोरको सिद्धान्तमा केही लचिलो भएको समेत बताए।

उनले  लामो समय ब्याजदर कोरिडोरभित्र अन्तर बैङ्क ब्याजदर कायम राख्न सफल भएको बताउँदै भने‘पछिल्लो डेढ महिनादेखि अन्तर बैङ्क ब्याज केही घटेको छ। पछिल्लो समय हामीले बजारबाट ब्याज तिरेर पैसा उठाउन सुरु गरेका छौँ। बजारबाट उठाएको ७० अर्ब रूपैयाँ आउटस्ट्यान्डिङ छ। हामी ब्याजदर कोरिडोर गर्न प्रतिबद्ध छौँ।’

पत्रकार सम्मेलनमा उनले कैयौँ संस्थाले कारोबार गर्न कठिन भएको भनेर दिएको सुझावको आधारमा आन्तरिक रेमिटेन्स खुला गर्न लागिएको बताएका थिए।

उनले आन्तरिक रेमिटेन्स खुला गर्न आएको सुझाव अनुसार १० देखि १५ हजार रूपैयाँ खुला गर्न सकिन्छ कि भन्ने सोच रहेको र त्यसबारे अध्ययनमै रहेको बताए।

उनले डिभेन्चरलाई निक्षेप वा पुँजी एउटामा मात्र गणना गर्न दिने विषयमा राष्ट्र बैङ्कभित्र छलफल भइरहेको समेत बताए।

मंसिर २२, २०८० शुक्रबार १८:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।