नेपाल लाइफले ६९.६२ अर्बको दाबी भुक्तानी गर्यो
काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्ब दाबी भुक्तानी गरेको छ। कम्पनीले मृत्यु दाबी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानी बापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानीबापत २३.४४ अर्ब दाबी भुक्तानी गरेको हो।
२०८० असोज मसान्त सम्ममा १३ हजार ५ सय १२ जनाका हकवालाहरूलाई मृत्यु दाबी भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ। कन्भेन्स्नल योजनाअन्तर्गत ११ हजार १ सय ७७ जनालाई ३ अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ २ हजार ३ सय ३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशत दाबी फर्स्यौट भइसकेको कम्पनीले जानकारी दिएको छ। सबै कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी ३ कार्य दिनभित्र र सामान्य मृत्यु दाबी भुक्तानी ७ कार्य दिनभित्र नै भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीले जानकारी दिएको छ।
यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको र ६७ प्रतिशत निवेदन एक हप्ताभित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिनाभित्र गरेको कम्पनीको दाबी छ। आवश्यक कागजात समयमा उपलब्ध नहुँदा केही दाबी भुक्तानीमा ढिलाइ भएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली कम्पनीले मृत्यु दाबी भुक्तानी गर्न आफ्नो आन्तरिक प्रणालीलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको बताउँछन्। आर्थिक वर्ष २०७९।८० मा ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै कम्पनी सर्वाधिक मृत्यु दाबी भुक्तानीगर्ने जीवन बीमा कम्पनी बनेको उनले बताए। आर्थिक वर्ष २०७८।७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गरेको थियो।
मंसिर २२, २०८० शुक्रबार १७:५२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।