विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजराइल सरकारका प्रतिनिधिसँग कुराकानी

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजराइल सरकारका प्रतिनिधिसँग कुराकानी

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि इजराइल सरकारका प्रतिनिधिसँग कुराकानी गरेका छन्।

शुक्रबार दिउँसो परराष्ट्रमन्त्री साउदले इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

नेपाली विद्यार्थी जोशीको हालको अवस्था, सुरक्षाको प्रत्याभूति र शीघ्र रिहाइ गराउने विषयमा उनीहरूबीच कुराकानी भएको मन्त्री साउदको सचिवालयले जनाएको छ। मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन भन्दै जोशीलाई प्राथमिकतामा राखेर रिहाइ गरिदिन पहल गर्न पनि आग्रह गरेका छन्।

जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने बताएका थिए।

यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग कुराकानी गर्दै हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए।

मंसिर २२, २०८० शुक्रबार १७:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।