पाकिस्तानविरुद्ध नेपालले टस हार्‍यो

पाकिस्तानविरुद्ध नेपालले टस हार्‍यो

काठमाडौं : यूएईमा आजदेखि सुरू भएको १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध टस हारेको छ।

दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा पाकिस्तानका कप्तान मिर्जा बैगले टस जितेर पहिला बलिङ रोजेका हुन्।

पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन्।

एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ। अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन्।

विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ।

नेपाली युवा टोलीले पछिल्लो समय सानदार प्रदर्शन गरेको छ। त्यसमा सिनियर टोलीका अलराउन्डर गुलशन झाको आगमनले टोली सन्तुलित र मजबुत भएको प्रशिक्षक जगत टमाटाको भनाइ छ।

मंसिर २२, २०८० शुक्रबार ११:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।