एनसेलको शेयर विवादमा अदालत पनि बोल्यो, खरिद/विक्री यथास्थितिमा राख्न अल्पकालीन आदेश
काठमाडौँ : एनसेलमा रहेको आजियटाको ८० प्रतिशत शेयर विक्री गर्ने विवादमा अदालत बोल्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। शेयर विक्रीबारे परेको रिटमा बिहीबार आदेशदिँदै उच्च अदालत पाटनले सेयर बिक्री नगर्नु/नगराउनू भन्दै कम्पनी रजिस्ट्रार कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिदबिक्री कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले जारी गरेको अल्पकालीन आदेशमा खरिद/बिक्री भएको भनिएका एनसेलका सेयर मंसिर २५सम्म दर्ता किताबमा दर्ता नगर्न/ नगराउन भनिएको छ।
अदालतले शेयर विवादमा थप छलफलका लागि रिट निवेदक र विपक्षी दुवैलाई मंसिर २५ गते इजलासमा छलफलका लागि बोलाएको छ।
गत साता मलेसियाली कम्पनी आजियटाले दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपाली मूलका सिंगापुरका नेपाली सतीशलाल आचार्यले बेलायतमा दर्ता गरेको कम्पनीलाई बिक्री गरेको सूचना सार्वजनिक गरेको थियो।
रेनोल्ड होल्डिङ्स नामकको कम्पनीको नाममा रहेको शेयर सतीशलालको स्पेक्ट्रलाइट युके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको सार्वजनिक भएदेखि नै नेपालमा यसबारे तीव्र विवाद भइरहेको छ।
शेयर विक्री विवाद बढ्दै गएपछि सरकारले बिहीबारै सो प्रकरणबारे छानबिन गर्न समिति समेत गठन गरिसकेको छ भने संसद्को सार्वजनिक लेखा समितिले शेयर खरिदबिक्री रोक्का गर्न सरकारलाई निर्देशन दिइसकेको छ। अर्थ समितिले नियामक निकायसँग जानकारी मागेको छ।
मंसिर २१, २०८० बिहीबार १८:४९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।