स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ ( विष सूचना केन्द्र ) को उदघाटन गरेका छन्।

त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको ‘पोइजन इन्फरमेसन सेन्टर’ को मन्त्री बस्नेतले बिहिबार शिक्षण अस्पतालमा आयोजित कार्यक्रमकाबिच उदघाटन गरेका हुन्।

त्रि.वि. शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो।

विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना गरेर प्रशंसनिय काम गरेको बताए। मन्त्री बस्नेतले भने, ‘यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिन कै काम गर्ने छ।’

उनले त्रिवि शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै विपन्नको उपचारलाई अझ प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए।

देशका ७ सय ५३ वटै पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यका साथ बिगतमा एकैसाथ सिलान्यास गरिए पनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका बिषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको मन्त्री बस्नेतले बताए। आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्र सुधारका विभिन्न योजनासँगै स्वास्थ्यमा जनशक्ति थप गर्ने योजनालाई उच्च प्राथमिकता दिएकाले निकट भविष्यमै स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न लागेको बस्नेतले दावी गरे।

नेपालमा वर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डाक्टर राकेश घिमिरेले त्यसमध्ये २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने बताउँदै विष सेवन पछिको उपचारका बिषयमा कुनै जानकारी लिनु परेमा ०१ ४५०२०११ मा फोन गर्न सकिने जानकारी दिए।

कार्यक्रममा अर्का चिकित्सक डाक्टर रामु खरेलले विष सेवन पछिको उपचारका बिषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको दावी गरे।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डाक्टर दीव्या सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर दीनेश काफ्लेको पनि उपस्थिति रहेको थियो।

मंसिर २१, २०८० बिहीबार १५:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।