शेयर प्रकरणमा भड्किएका ग्राहक मनाउँदै एनसेल, ग्राहक बढाउने दाउमा टेलिकम

शेयर प्रकरणमा भड्किएका ग्राहक मनाउँदै एनसेल, ग्राहक बढाउने दाउमा टेलिकम

काठमाडौं :  शेयर खरिदबिक्री प्रकरणमा आजियाटाको शेयर कारोबारको लगभग ४० करोड अमेरिकी डलर इन्टरप्राइज भ्यालु रहेको खुलेको छ।

यो सँगै आजियटाले अकस्मात एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर एक डलरमा खुलेको कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि एनसेल ग्राहक भड्किने जोखिममा छ।

राजनीतिक दलका भातृ संगठनहरू एनसेल बहिष्कारको अभियानमा लागेका छन्। संसदीय समितिदेखि सरकारसम्म छानविनमा छ।

कतै एनसेलको सेवा अवरुद्द हुने त हैनरु ग्राहक अन्योलमा पर्ने जोखिम हेरेर एनसेलले सामाजिक सञ्जालमा ‘दूरसञ्चार सेवा केही नहुने’ सन्देशसहित सूचना निकालेर बुस्ट नै गर्यो।

सूचनामा शेयर परिवर्तनले कम्पनीको सेवा, सुविधामा कुनै असर नपर्ने उल्लेख गरेको छ।

पोस्टमुनि आएका प्रतिक्रिया भने सकारात्मक छैनन्। कर छल्न खोजेको भन्दै विरोधका कमेन्ट टन्न छन्। केहीले एनसेल बहिस्कारको कमेन्ट पनि गरेका छन्। 

यही अन्योलमा प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकमले ग्राहक बढाउन एसएमएसमार्फत सन्देश पठाएर ‘भरपर्दो र शुलभ दुरसञ्चार सेवाका लागि नजिकैको कार्यालय र वितरण केन्द्रमा टेलिकमको सिम शुलभ रूपमा पाउनसक्ने’ उल्लेख छ।

८० प्रतिशत शेयर किन्ने कम्पनीको विवादित पृष्ठभूमि, आजियटाको आकस्मिक निर्णय र त्यसले निम्त्याएको पुँजीकर छल्ने, छ वर्षपछि सरकारीकरण हुने कानूनी प्रावधान छल्ने खेलको आशंकाले सामाजिक सञ्जाल एनसेल प्रकरणमा आक्रामक देखिन्छ।

एनसेल पुँजीगत कर विवादमा परेको पहिलो पटक पनि हैन। यसअघि यस्तै विवादमा सामाजिक सञ्जालमा चलेको एनसेल बहिस्कार अभियानमा कम्पनीले ठूलो क्षति व्यहोरेको थियो।विवाद चर्कँदै गए पुन: सोही स्तरको अभियान सामाजिक सञ्जालमा चलेमा थप क्षति व्यहोर्ने जोखिम देखिन्छ।

एनसेलको व्यवस्थापन क्षति कम गर्न सक्रिय देखिए पनि प्रभावकारी देखिएको छैन।

एनसेलको शेयर बिक्रीको निर्णयसँगै आजियटाले नेपालको नीति वैदेशिक लगानीमैत्री नरहेको आरोप लगाएको छ। यो आरोपमा सांसदहरू गम्भीर देखिएका छन्। यो आरोपले राष्ट्रवादको भावना छोएमा एनसेलका ग्राहक भड्किने उच्च जोखिम देखिन्छ।

सम्भवत: त्यही जोखिम कम गर्न एनसेलले ‘हामी तपाईंकै लागि’ मा अडिग रहेको उल्लेख गरेको छ। तर, प्रतिक्रियाहरू एनसेलमैत्री देखिएको छैन।

मंसिर २१, २०८० बिहीबार १३:०७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।