एनसेल शेयर प्रकरणमा छानबिन गर्न समिति गठन, संयोजक टंकमणि
काठमाडौं : सरकारले एनसेल शेयर खरिदबिक्री विवादबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।
मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।
आजियटाले आफ्नो ८० प्रतिशत शेयर न्यून मूल्यमा बिक्री गरेको सार्वजनिक भएपछि विवाद बढिरहेको छ।
एनसेल शेयर प्रकरण चर्किँदै गएपछि सरकारले सत्ताधारी दलका नेताहरूसँग छलफल गरेर समान धारणा बनाएको थियो।
गठबन्धनमा रहेका दल शेयर बिक्री प्रकरणबारे छानबिन गर्नुपर्नेमा सहमत भएपछि सरकारले मन्त्रीपरिषद्मार्फत समिति गठन गर्ने सहमति गरेको थियो।
उता संसद्को अर्थ र सार्वजनिक लेखा समितिले समेत एनसेल शेयर बिक्री प्रकरणमा अध्ययन गरिरहेको छ।
लेखाले छानबिन र अध्ययन टुङ्गो नलागेसम्म शेयर खरिदबिक्री प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ।
मंसिर २१, २०८० बिहीबार ११:१२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।