वेस्ट इन्डिज २०२ रनमा अलआउट भएपछि इंग्ल्याण्ड १-१ को स्थितिमा
काठमाडौं : वेस्ट इन्डिज भ्रमणमा रहेको इंग्ल्याण्डले दोस्रो एकदिवसीय खेलमा घरेलु टोलीलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा छ।
२०३ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३२.५ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उसका लागि विल ज्याकले सर्वाधिक ७३ रन बनाउँदा जोस बट्लर र ह्यारी ब्रुकले अविजित रहँदै क्रमशः ५८ र ४३ रन जोडे।
फिल साल्टले २१ रन जोड्दा ज्याक क्रावली र बेन डुकेटले समान तीन-तीन रन जोडे।
वेस्ट इन्डिजका गुडाकेश मोटीले दुई तथा शेरफन रुथरफोर्ड र रोमारियो सेफर्डले समान एक-एक विकेट लिए।
त्यसअघि एन्टिगुवाको सर भिभिएन रिचर्ड्स स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको इंग्ल्याण्डले ३९.४ ओभरमा अलआउट हुँदै २०२ रन मात्र बनाउन सक्यो।
उसका लागि कप्तान साइ होपले ६८ रनको सर्वाधिक ठूलो इनिङ खेले। शेरफन रुथरफोर्ड ६३, रोमारियो शेरफ्रेड १९, ब्रान्डन किङ्ग १७ र अल्जारी जोशेफले १४ रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।
इंग्ल्याण्डका साम करण र लियाम लिभिङ्स्टोनले तीन-तीन, रेहान अहमद र गुस अकिन्सनले समान दुई-दुई विकेट लिए।
यसअघि ३ डिसेम्बरमा भएको पहिलो एकदिवसीय खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ४ विकेटले हराएको थियो। तेस्रो तथा अन्तिम एक दिवसीय खेल ९ डिसेम्बरमा हुनेछ।
तीन एकदिवसीय पछि यी दुवै टोलीले पाँच खेलको टी-२० आई सिरिज पनि खेल्नेछन्। आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको तयारीस्वरुप यी दुई टोलीले टी-२० सिरिज खेल्न लागेका हुन्।
मंसिर २१, २०८० बिहीबार ०८:०५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।