सडक संघर्षको तयारीमा राप्रपा, अस्थिरता र अराजकताको पक्षमा नलाग्ने

सडक संघर्षको तयारीमा राप्रपा, अस्थिरता र अराजकताको पक्षमा नलाग्ने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सडक संघर्षको तयारीमा जुटेको छ। जनजीविका, राष्ट्रियता, र पार्टीको मूल मुद्दा लिएर सडक सङ्घर्षमा जाने आउने कार्यक्रमको तयारीमा रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

राप्रपाको मूल मुद्दा संवैधानिक राजतन्त्र र हिन्दु धर्म रहेको छ। बुधवार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष लिङ्देनले अस्थिरता र अराजकतामाथि पार्टीले भविष्य नखोज्ने बताए। आफूहरूले अरू कसैको आन्दोलनलाई विरोध वा समर्थन गर्न हतार समेत नगर्ने उनले बताए।

प्रसाईँको आन्दोलनमा सतर्कतापूर्ण नजर

राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईँले मंसिर ७ बाट सुरु गरेको आन्दोलन तुहिइसक्यो। प्रसाईँको आन्दोलनबारे राप्रपाभित्रै विवाद समेत थियो।

यता प्रसाईँ काठमाडौँमाहुँदा राप्रपाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापा लगेको थियो। प्रसाईँको आन्दोलनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले त्यसलाई पार्टीले सतर्कतापूर्वक हेरेको बताएका थिए।

मंसिर ७ को कार्यक्रममा पार्टीले कसैलाई जाऊ पनि नभने र नजाऊ पनि नभनेको भन्दै उनले पार्टीले निकट भविष्यमै जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर आफैँ सडकमा आउने कार्यक्रम तयार गरिरहेको बताए।

मंसिर २०, २०८० बुधबार १५:३६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।