एन्जियोप्लास्टी सर्जरी गरेका उपप्रधानमन्त्री श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने

एन्जियोप्लास्टी सर्जरी गरेका उपप्रधानमन्त्री श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ।

असोजको अन्तिम साता चीन भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो।

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्को पट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो। मुटुमा हल्का असहज महसुस भएपछि गए राति उनी अस्पताल भर्ना भएका थिए।

डा. अरुण मास्केसहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरिसकेको छ। हाल उनी सघन उपचार कक्षमा छन् र स्वास्थ्य अवस्था सामान्य एवं स्थिर रहेको अस्पतालले जनाएको छ।

चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहानै अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूबीच सामान्य कुराकानी समेत भएको छ। चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ।

मंसिर २०, २०८० बुधबार १२:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।