गोडा चलेसम्म आईपीएल खेलिरहन्छु, यही मेरो करिअरको अन्तिम प्रतियोगिता हुनेछ : ग्लेन म्याक्सवेल

गोडा चलेसम्म आईपीएल खेलिरहन्छु, यही मेरो करिअरको अन्तिम प्रतियोगिता हुनेछ : ग्लेन म्याक्सवेल

एजेन्सी : अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले करिअरको अन्तिम प्रतियोगिता नै इन्डियन प्रिमियर लिग (आईपीएल) हुने बताएका छन्।

बुधबार मेलबर्न अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आईपीएलले आफ्नो खेल करिअरमा महत्वपूर्ण योगदान दिएको भन्दै शरीरले साथ दिएसम्म खेल्ने बताएका हुन्।

‘म मेरो करियरको अन्त्यसम्म आईपीएल खेलिरहनेछु। सायद यो मेरो करियरको अन्तिम प्रतियोगिता हुनेछ। गोडा चलेसम्म आईपीएल खेलिरहन्छु,’ उनले भने, ‘मेरो करियरमा आईपीएलले धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ। यस प्रतियोगितामा गुणस्तरीय खेलाडी र प्रशिक्षकहरू सहभागी हुन्छन्, जसबाट तपाईंले धेरै कुरा सिक्न सक्नुहुन्छ।’

२०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपका लागि आगाी वर्ष हुने आईपीएलमा अष्ट्रेलियाका धेरैभन्दा धेरै खेलाडी हुन सकुन् भन्ने आफ्नो चाहना रहेको उनले बताए।

‘यस वर्षको आईपीएलमा धेरै भन्दा धेरै खेलाडीहरूले भाग लिउन्, जसले टी-२० विश्वकपको तयारीका लागि मद्दत पुग्छ,’ उनले थपे, ‘अब वेस्ट इन्डिजमा पनि भारतको जस्तै सुख्खा पिच हुनेछ, स्लो पिच हुँदा स्पिनरलाई धेरै फाइदा पुग्छ।’

भारतबाट फर्केर एक साता आराम गरेपछि म्याक्सवेलले आगामी सातादेखि बिग ब्यास लिग (बीबीएल)मा मेलबर्न स्टार्सको कप्तानी गर्नेछन्। उनी आईपीएलमा भने रोयल च्यालेन्जर्स बैंग्लोरका सदस्य हुन्।

एकदिवसीय विश्वकप जितिसकेपछि अष्ट्रेलियाली टिमको ध्यान अब टी–२० विश्वकपमा देखिएको छ।

उनले भने, ‘विश्वकप जितिसकेपछि हामीले आपसमा कुरा गर्यौं र भन्यौं कि हाम्रो अर्को लक्ष्य टी-२० विश्वकप हुनुपर्छ। त्यसअघि म बीबीएलको अर्को सिजनको प्रतीक्षामा छु।’

२० मंसिर, २०८०, ११:५५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।