झुर फिल्म भए पनि नेपालीलाई माया गरौँ भन्नेसँग रिसाइन अभिनेत्री प्रियङ्का
काठमाडौँ : अभिनेत्री प्रियङ्का कार्कीको दनक ढिला आउँछ तर कडा आउँछ। नेपाली फिल्म क्षेत्रबारे उनले यस्तै कडा दनक दिएकी छिन् हालै एक अन्तर्वार्तामा।
कार्यक्रममा प्रश्नकर्ता सजन महर्जन नै के सोध्ने अनि के नसोध्ने भनेर अलमलै एपिसोड बिते पनि अभिनेत्री कार्कीले भने आफ्नो लभ लाइफ, विवाहपछि बदलिएको जीवन अनि आमा भएपछिको परिपक्वताबारे खुलेर कुरा गरेकी छिन्।
उनले सबैभन्दा गजब प्रतिक्रिया नेपाली फिल्म क्षेत्रबारे नै दिएकी छिन्। जस्तो भए पनि नेपाली फिल्मलाई माया गर्नुपर्ने भन्ने थेगो खुबै चर्चामा ल्याउँछन् केही फिल्मकर्मीहरूले। उनीहरूको आशय जस्तो झुर फिल्म भए पनि नेपाली हो नि भनेर हेरिदिनुपर्ने रे!
यो भन्दा बेकुफ तर्क अरू केही हुन्छ र! अनि युट्युबमा कतिखेर फिल्म हाल्छन् भनेर कुरेर बस्ने नेपाली फिल्म प्रेमीहरू पनि छन् जो सामाजिक सञ्जालमा नेपाली फिल्मलाई माया गरौँ भनेर स्टाटस लेखेर थाक्दैनन्। कसैले नेपाली फिल्मको आलोचनात्मक टिप्पणी गर्यो भने कमिला जसरी टोक्न आई पुगिहाल्छन्।
यस्तै प्रवृत्ति भएका फिल्म मेकर अनि दर्शक दुबैलाई दनकदिँदै अभिनेत्री प्रियङ्काले भनिन्' झुर नेपाली फिल्मलाई माया गरेर जस्तो पायो त्यस्तै निर्माता अनि निर्देशकलाई प्रोत्साहन नगर्नु।'
अध्ययनै नगरी हचुवाको तालमा नेपाली फिल्म क्षेत्रमा आएकाहरूका कारण अनुभवी र राम्रो फिल्म बनाउने मेकरहरु समेत मर्कामा परेको भन्दै उनले झुर फिल्मलाई नेपाली हो भनेर माया गर्दै नगर्न दर्शकहरूलाई आग्रह गरिन्।
हल्ला गरेर फिल्मको हाइप बनाउने तर हलमा जाँदा झुर भएपछि त्यसको प्रभाव राम्रो फिल्ममा पर्ने उनको तर्क थियो। हो पनि के के छ बबाल फिल्म छ भनेर भस्मे डनले हल्ला गरे। हलमा गएका दर्शक निराश भए। अनि दिमाग खराब राम्रो छ भन्दा पनि पत्याएनन्।
त्यसैले नेपाली भनेर जस्तो फिल्मलाई पनि माया गर्नु भनेको नक्कली सामानको प्रवर्धन गरेर सक्कली सामानको मार्केट स्वाहा पारे जस्तै हो।
कार्यक्रममा उनले अब आफू अभिनेत्री भन्दा पनि सन् २०२४ मा फिल्म निर्मात्रीको रुपमा आउन लागेको समेत खुलाइन् उनले। उनको अनुसार उनी सन् २०२४ मा दुईवटा फिल्म बनाउँदैछिन् जसको स्टोरी बिल्डअपको काम भइरहेको छ रे अहिले।
मंसिर २०, २०८० बुधबार ०१:२५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।