एनसेलको शेयर बिक्री प्रकरणबारे बल्ल बोल्यो सरकार, समिति बनाएर छानबिनको तयारी, एनसेलले पठायो जवाफ
काठमाडौँ : सत्ताधारी घटकका नेताहरूसँगको छलफलपछि सरकार एनसेलको शेयर विक्री प्रकरणबारे छानबिन गर्ने निष्कर्षमा पुगेको छ। नेपालको नियामक निकायसँग स्वीकृति नै नलिई अनि शेयर विक्री प्रक्रियाबारे जानकारी नै नदिई नेपाल बाहिर शेयर कारोबार भएको थियो।
मलेसियन कम्पनी आजियाटा एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपाली मूलका सिंगापुरका नागरिकको बेलायतमा भएको कम्पनीलाई करिब ६ अर्बमा बेचेको थियो। सो कम्पनी तीन महिना अगाडि मात्र दर्ता भएको थियो।
आजियाटाले एनसेलमा भएको आफ्नो सेयर विक्री गरेर नेपालबाट बाहिरिने तयारीमा रहेको विज्ञप्ति निकाले लगत्तै शेयर विक्री गरेको सार्वजनिक गरेकाले शेयर विक्री योजनाबद्ध देखिएको थियो।
यसैबारे छलफल गर्न प्रचण्डले ६ दलका नेतालाई बालुवाटारमा बोलाएका थिए। सत्ताधारी दलका नेताहरूबीचको बैठकमा सो घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न सहमति जुटेपछि सञ्चारमन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर छानबिन हुने उल्लेख गरेकी छिन्। विज्ञप्तिमा नेपालको नियामक निकायलाई जानकारी नदिई अस्वाभाविक मूल्यमा विक्री भएकोबारे छानबिन गर्ने उल्लेख छ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने बताएकी थिइन्।
'नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री दाहालले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको' विज्ञप्तिमा लेखिएको छ।
‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
सेयर विक्रीको घटनाक्रम र मूल्य स्वाभाविक देखिएको छैन। यसले नेपालमा पुँजीगत लाभकर छल्ने, ५० प्रतिशत बढी विदेशीको लगानी रहेको दूरसञ्चार कम्पनीले लाइसेन्स पाएको २५ वर्षपछि सरकारीकरण हुने प्रावधान छल्ने प्रयास समेत भएको देखिन्छ।
एनसेलमा रहेको आजियाटाको शेयर विक्री भएको सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले समेत चासो राख्दै छलफल गरिरहेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणले समेत एनसेललाई पत्र पठाएको थियो। एनसेलले मङ्गलवार प्राधिकरणलाई जवाफ पठाएको पुष्टि भए पनि पत्रमा के लेखिएको छ भन्ने सार्वजनिक भएको छैन।
मंसिर १९, २०८० मंगलबार २२:००:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।