वन सिनेमाज्ले एडल्ट सर्टिफिकेट पाएको फिल्म ‘एनिमल’ बालबालिकालाई देखायो, कारबाहीको तयारी
काठमाडौँ : नयाँ बानेश्वरमा रहेको वान सिनेमाज्ले एडल्ट सर्टिफिकेट पाएको हिन्दी चलचित्र ‘एनिमल’ बालबालिकाहरूलाई देखाएको छ।
सोमबार साँझ ६ ३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरेर फिल्म देखाएको हो। हलले मापदण्डविपरित बालबालिकालाई टिकट विक्री गरेर एडल्ड सर्टिफिकेट पाएको फिल्म देखाएको सूचनाको आधारमा चलचित्र विकास बोर्डले हलमा छड्के अनुगमन गरेको थियो।
अनुगमनमा हलले मापदण्ड विपरीत बालबालिकाहरूलाई फिल्म देखाएको पाइएपछि, हल व्यवस्थापनलाई बालबालिकाहरूको टिकट फिर्ता गर्न लगाएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
सो घटनाबारे थप अनुसन्धान गरी बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए।
सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ।
मंसिर १९, २०८० मंगलबार १६:००:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।