एनसेल पुँजीगत करको मुद्दाको सुनुवाइ भएन, अर्को पेसी फागुन १५
काठमाडौँ : एनसेल आजियाटा लिमिटेडको आयकरसम्बन्धी सर्वोच्च अदालतमा रहेको मुद्दाको सुनुवाइ मंगलबार स्थगित भयो।
ठूला करदाता कार्यालयले निर्धारण गरेको ५७.९ अर्ब रूपैयाँको आयकर बक्यौताको निर्णयलाई चुनौती दिँदै एनसेलले सर्वोच्चमा दिएको ‘उत्प्रेषण’को रिटको मङ्गलवार पेसी थियो। गोला प्रथा गर्दा मुद्दा स्थगित सूचीमा परेपछि सुनुवाइ हुन सकेन। मुद्दाको अर्को पेसी फागुन १५ गते तोकिएको छ।
मलेसियन कम्पनी आजियाटाले २०७२ को चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर अर्थात् तत्कालीन समयमा करिब १ खर्ब ४३ अर्ब रुपैयाँमा स्वीडिस दूरसञ्चार कम्पनी टेलियासोनेरासँग खरिद गरेको थियो।
खरिदबिक्री प्रक्रियामा कानुनबमोजिम सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेको भन्दै सरकारले एनसेलसँग ५७ अर्ब रूपैयाँ पुँजीगत लाभकर भराउने निर्णय गरेको थियो।
सो निर्णयलाई चुनौती दिँदै एनसेल सर्वोच्च पुगेको थियो। पुरानो पुँजीगत करको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा यता आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर समेत विक्री गरिसकेको छ।
गत शुक्रवार उसले एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्दा नेपालको नियामक निकायसँग पूर्व अनुमति नलिएपछि अहिले दोस्रो खरिद बिक्रीबारे समेत विवाद भइरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले खरिद बिक्रीबारे एनसेललाई पत्र पठाएर जानकारी माग गरेको छ भने संसद्को सार्वजनिक लेखा समितिले नियामक निकायलाई पत्र पठाएर यसबारे जानकारी मागेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल अनि अर्थमन्त्री प्रकाशशरण महतले भने एनसेलको सेयर स्वामित्व विक्री भएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन्।
मंसिर १९, २०८० मंगलबार १५:१३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।