पक्राउ पुर्जीविरुद्ध विप्लवको पार्टीद्वारा आन्दोलन घोषणा

पक्राउ पुर्जीविरुद्ध विप्लवको पार्टीद्वारा आन्दोलन घोषणा

काठमाडौं : महासचिव लगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले पक्राउ पुर्र्जीविरुद्ध मंगलबार साँझ साढे पाँच बजे मशालजुलुस, २० गते बुधबार दिनको ३ बजे न्यायाधीशको पुत्लादहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ।

आफ्ना नेताहरू विरुद्धको पक्राउ पुर्जी २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लंघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको पार्टीको निष्कर्ष छ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरूलाई समाधान गर्न मद्दत गर्नुपर्ने मुख्य अङ्ग अदालतले नै गैरकानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाँड्न अदालत र न्यायधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ।’

राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा काठमाडौं जिल्ला अदालतले विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै उपस्थित हुन भनेको हो।

२०७६ असोज ९ गते निजहरूमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो। निजहरूले संघीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ।

प्रहरीले निजहरू फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो। 

मंसिर १९, २०८० मंगलबार १३:४५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।