पोष्टबहादुर बोगटीको सुनामी कन्स्ट्रक्सनसहित आठ कम्पनी सरकारको कालोसूचीमा

पोष्टबहादुर बोगटीको सुनामी कन्स्ट्रक्सनसहित आठ कम्पनी सरकारको कालोसूचीमा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको अनुगमन कार्यालयले मंगलबार पाँच सार्वजनिक निकायको सिफारिसमा आठ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

कार्यालयले राजिव गुर्गाको भारत कन्स्ट्रक्सन, मदनकुमार अधिकारीको मैनाचुली निर्माण सेवा प्रालि र दिपेन्द्र बहादुर शाहीको सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षसम्म कालोसूचीमा राखेको हो।

मध्यपहाडी राजमार्गको आयोजनामा काम नगरेपछि सो कम्पनीलाई कालोसूचीमा राख्न पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

यस्तै, नयाँ बानेश्वरको मैनाचुली-सिद्धिसाई जेभीलाई दुई वर्ष र विदुर-७ नुवाकोटको शेर्पा/हेना/ सुनामी जेभीलाई एक वर्षसम्म कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी रहेका छन्।

यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स का.म.न.पा-१६ रइजोन निर्माण सेवा,जुम्ला पनि एक/एक वर्षका लागि कालोसूचीमा परेका छन्। इजोन निर्माण सेवाका मुख्य व्यक्ति हरिराम बोहरा रहेका छन्।

कालोसूचीमा परेका सबै निर्माण कम्पनीलाई सडक विभाग र स्थानीय तहको सिफारिसमा कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ।

यी कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का सम्झौता या खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।

मंसिर १९, २०८० मंगलबार १०:५१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।