महाधिवेशनको मिति टुङ्ग्याउन आज पुन: सचिवालय बैठक बस्दै एकीकृत समाजवादी

महाधिवेशनको मिति टुङ्ग्याउन आज पुन: सचिवालय बैठक बस्दै एकीकृत समाजवादी
फाइल तस्बिर

काठमाडौं : एकीकृत समाजवादीको महाधिवेशको मिति तय गर्न मंगलबार पनि सचिवालय बैठक बस्दैछ।

बैठक बिहान ११ बजे आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सोमबार बसेको पार्टी सचिवालय बैठकमा माघमा गर्ने भनिएको महाधिवेशन सार्न सबै नेताहरू सहमत भएका थिए।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुने भएकाले पार्टी अध्यक्ष माधवकुमार नेपालले यसलाई पछाडि सार्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा सम्मानित नेता झलनाथ खनालसहित सबैको सहमति भएको हो।

अब मंगलबारको बैठकले महाधिवेशनकाे मिति टुङ्ग्याउने प्रवक्ता खतिवडाको भनाइ छ।

‘आज(सोमबार) हामीले महाधिवेशनबारे छलफल गर्यौँ। त्यसबारे थप निर्णय भोलि(मंगलबार) गर्छौँ’, खतिवडाले सोमबारको बैठकपछि सञ्चारकर्मीसँग भनेका थिए।

उनले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच कुनै विमति नरहेको दाबीसमेत गरेका थिए।

मंसिर १९, २०८० मंगलबार ०७:४७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।