एनसेलको शेयर बिक्रीबारे प्रधानमन्त्रीको गम्भीर चासो, शीघ्र अध्ययन गर्न निर्देशन

एनसेलको शेयर बिक्रीबारे प्रधानमन्त्रीको गम्भीर चासो, शीघ्र अध्ययन गर्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको शेयर बिक्रीबारे गम्भीर चासो राखेका छन्।

प्रधानमन्त्रीले प्रचलित कानूनी प्रावधानको पालना भए नभएको अध्ययन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ।’

एनसेलको शेयर खरिद प्रक्रियालाई लिएर सार्वजनिक लेखा समितिले चासो देखाएको छ। समितिले उक्त कम्पनीको शेयर बिक्रीका सन्दर्भमा आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर नौ जिज्ञासाको जवाफ खोजेको छ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ। 

राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका हुन्।

मंसिर १८, २०८० सोमबार १९:०४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।