एकीकृत समाजवादीको महाधिवेशन सार्न झलनाथ खनाल पनि सहमत

एकीकृत समाजवादीको महाधिवेशन सार्न झलनाथ खनाल पनि सहमत

काठमाडौं : एकीकृत समाजवादीको माघमा गर्ने भनिएको महाधिवेशन सार्न नेताहरू सहमत भएका छन्।

सोमबार बसेको पार्टीको सचिवालय बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशनको मिति सार्न नेताहरू सहमत भएको जानकारी दिए।

खतिवडाका अनुसार बैठकले अर्को मिति तय गर्न सकेन।

‘आज हामीले महाधिवेशनबारे छलफल गर्यौँ। त्यसबारे थप निर्णय भोलि गर्छौँ,’ उनले भने, ‘भोलि बिहान ११ बजेबाट फेरि बैठक बस्छ।’

उनले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच कुनै विमति नरहेको दाबी गरे।

माघमा गर्ने भनिएको महाधिवेशन राष्ट्रिय सभा निर्वाचनका कारण सार्न लागिएको हो।

महाधिवेशनकाे विषयलाई लिएर नेपाल र खनालबीच टकराब भएका खबरहरू बाहिरिएका थिए।

ती समाचारहरूमा खनाल जतिसक्दो चाँडो पार्टीको महाधिवेशन गर्न चाहेको र नेपाल जतिसक्दो पर सार्न चाहेको बताइएको थियो।

मंसिर १८, २०८० सोमबार १८:५४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।