बेरोजगार ‘पलाँस’का हिरो भन्छन्- ‘भिलेन कै रोल भए पनि देओ न!’

बेरोजगार ‘पलाँस’का हिरो भन्छन्- ‘भिलेन कै रोल भए पनि देओ न!’

काठमाडौं : नेपालमा वर्षमा ६० देखि ८५ वटासम्म फिल्म रिलिज हुन्छन्। तर, पनि अधिकांश कलाकारले काम पाएका छैनन्। अरु त अरु कुनै समय थुप्रै फिल्ममा मुख्य भूमिकामा देखिएका कलाकारहरूसमेत अचेल बेरोजगार छन्।

फिल्म ‘ठेगाना’, ‘म तिम्रो भैसकेँ’, ‘पलाँस’, ‘चाँडै आउ है’ लगायत एक दर्जन बढी फिल्ममा अभिनय गरेका अभिनेता आयुब केसीले आफूलाई निर्माताले पत्याउन छाडेको भन्दै सामाजिक सञ्जालबाटै काम मागेका छन्।

दुई सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका उनले सञ्जालमार्फत नेपालमा बनेका फिल्महरूले कहाँबाट लगानी उठाउँछ आश्चर्य मानेका छन्।

नेपाली फिल्मको पछिल्लो समय कथा एउटै भएको प्रश्न उठ्दै आएको छ। यसमा पनि उनले प्रश्न उठाएका छन्। उनले फिल्मको कथा र कलाकार एउटै भएको कति हेर्नु भनेका छन्।

उनले नेपाली कलाकारहरू पछिल्लो समय जुन पायो त्यहि कथामा फिल्म खेल्न थालेको र मेकरले पनि लुक चल्यो भन्दैमा त्यसैलाई लिदा फिल्ममा मेहनत नदेखिएको बताए।

उनी लेख्छन्, ‘कथा एउटै, कलाकार एउटै, कति हेर्ने एउटै कलाकार, एउटै लुक। भएजति चलचित्र साइन गर्यो अनि कहाँ लुकमा मेहनत गर्न समय हुन्छ? फेरि मेकरहरू के भाको, जो जस्तो चल्यो त्यसकै लागि त्यस्तै कथा बनाउने।’

केसीले कथा अनामनगरमा बसेर नपाइने भन्दै आयुवले खोज्नका लागि गाउँ छिर्न निर्माताहरूलाई सुझाव दिएका छन्।

‘हैन कथा अनामनगर बसेर पाइन्छ र? गाउँतिर लाग्नु पर्यो नि? खाली हिमाल देखायो। धन्न हिमाल छ र देखाउछौ! नत्र के ...? उनले थपेका छन्, ‘कथा छैन भने आओ म कहाँ खानी छ। २,४ करोड लाग्दैन मेरो कथालाई, १ मुनि मै सकिन्छ।’

उनले आफूलाई फिल्ममा हिरो नलिए पनि भिलेनमा समेत नपत्याएको गुनासो गरेका छन्।

‘अरे यार हिरो खेलाओ भन्या पनि हैन, भिलेन नै देओ न! त्यो पनि पत्याएनन्। १७ वर्ष यो पेशामा लागे कुनै कसर नछोडी’, उनले लेखेका छन्।

नेपाली कलाकारहरूले कामको अभावकै कारण आत्महत्या गरेको उनको तर्क छ।

‘कलाकारले आत्महत्या त्यसै गर्या हैन रहेछ। देश छोडेका त्यसै हैन रहेछ। पीडा भएर नै होला...?,’ उनले थप लेखेका छन्, ‘ठीकै छ म एउटा कराएर पिना नसुक्ने हैन्। आफैँ कमाउन लाग्छु अब, यतिका गाका छन् म एउटा जाँदा के नै कमी होला।’

उनले फिल्ममा आफैँ कमाएर आफ्नो आकांक्षा ५० वर्षमा भए पनि पूरा गर्ने उल्लेख गरेका छन्। उनले बेरोजगार बसेका कलाकारलाई पनि आफ्नो लागि आफैँ फिल्म निर्माणमा जुट्न आग्रह गरेका छन्।

उनले अन्तमा लेखेका छन्, ‘यो मेरो मात्र कथा हैन, धेरै छन् म जस्ता।’

मंसिर १८, २०८० सोमबार १३:५०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।