भारत विधानसभा : तीन राज्यमा सत्ताधारी भाजपाको बहुमत, एकमा कंग्रेसले सरकार बनाउने

भारत विधानसभा : तीन राज्यमा सत्ताधारी भाजपाको बहुमत, एकमा कंग्रेसले सरकार बनाउने

काठमाडौं : भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ।

भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो। तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित जित्यो।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको हो। जहाँ  बहुमतका लागि ११६ सिट आवश्यक पर्दथ्यो। कंग्रेस आईले ६५ सिट मात्र जित्यो।

राजस्थानमा कुल १९९ सिटमध्ये भाजपाले ११५ सिटमा जित हात पार्दा कंग्रेस आईले ६९ सिटमा खुम्चियो।

​छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको छ।​

तेलंगनामा भने कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिट जितेको छ। अल इन्डिया मजलिस–ई–इत्तेहादुल मुस्लिमिनले ८ सिट जितेको छ।

यी तीन राज्यमा विजयी भएसँगै सत्तारुढ भाजपाले देशको १२ राज्यहरूमा आफ्नै सरकार बनाउने भएको हो।

राजस्थान र छत्तीसगढमा पराजयपछि दोस्रो ठूलो राजनीतिक दल कांग्रेसको हातमा तीन राज्य मात्रै रहनेछ।

यस हिसाबले दिल्ली र पञ्जाबमा सरकार चलाउने आम आदमी पार्टी तेस्रो शक्ति बनेको छ।

सत्तारुढ भारतीय जनता पार्टी हाल उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, गुजरात, गोवा, असम, त्रिपुरा, मणिपुर, अरुणाचल प्रदेश र मध्य प्रदेशमा सत्तामा छ।

राजस्थान र छत्तीसगढमा यसअघि कंग्रेसले सरकार चलाइरहेको थियो।

मंसिर १८, २०८० सोमबार ०७:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।