भारतसँग अष्ट्रेलिया स्तब्ध, अन्तिम ओभरमा ल्याउन सकेन १० रन

भारतसँग अष्ट्रेलिया स्तब्ध, अन्तिम ओभरमा ल्याउन सकेन १० रन

काठमाडौं : अन्तिम ओभरमा १० रन जोड्न नसक्दा भारतविरुद्धको पाँच खेलको टी-२० सिरिजको अन्तिम खेलमा अष्ट्रेलिया पराजित भएको छ।

आइतबार बेंगलुरुमा भएको खेलमा अस्ट्रेलियामाथि ६ रनको जित निकाल्दै भारतले सिरिज ४-१ ले जित्यो।

आइतबार भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको थियो।

अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले भारतका अर्शदीप सिंहको पहिलो दुई बलमा रन लिन सकेनन् भने तेस्रो बलमा क्याच भए।

श्रेयस अय्यरबाट क्याच हुनुअघि उनले १५ बलमा २२ रन जोडे। ओभरको चौथो बल जेसन बेन्ह्रेन्ड्रफ क्रिजमा आए र एक रन लिए।

पाँचौं बलमा नाथन इलिसले प्रहार गरेको बल बलर सिंहको हातमा लागेर गयो, जसलाई अम्पायरले छेक्न पुगे। जसमा अष्ट्रेलियाले एक रन मात्र जोड्न सक्यो।

ओभरको अन्तिम बलमा बेन्ह्रेन्ड्रफले एक रन मात्र जोड्न सके। यसरी अन्तिम ओभरमा १० रन ल्याउन नसकेर तीन रन मात्र जोड्दा अष्ट्रेलिया ८ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।

त्यसअघि अस्ट्रेलियाका बेन म्याकडरमटले ५४ रनको योगदान गरे।

बलिङमा भारतका मुकेश कुमारले ३ विकेट लिए भने अर्शदीप सिंह र रवी विश्नोइले २-२ विकेट लिन सफल भए।

अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन जोड्यो। 

भारतका लागि श्रेयष अय्यरले ५१ रन र अक्षर पटेलले ३१ रन बनाएका थिए।

पहिलो, दोस्रो र चौथो खेल जित्दै भारतले यसअघि नै सिरिज जितेको थियो। अस्ट्रेलियाले भने तेस्रो खेलमा जित निकालेको थियो।

मंसिर १८, २०८० सोमबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।