पुँजीगत खर्चभन्दा ऋणको साँवा ब्याजको भुक्तानी रकम बढी

पुँजीगत खर्चभन्दा ऋणको साँवा ब्याजको भुक्तानी रकम बढी

काठमाडौँ :  चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ।

गत कात्तिक मसान्तसम्ममा सरकारले २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ। यही अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा भने ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सार्वजनिक ऋणमात्र ५७ अर्ब ७१ करोड बढी थपिएको छ।

गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो।

गत कात्तिक मसान्तसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख थियो।

चालु आर्थिक वर्षको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा १६ अर्ब १८ करोड ६१ लाख भुक्तानी गरेको देखिन्छ।

साउनदेखि कात्तिक मसान्तसम्ममा ऋण प्राप्तिमा ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरेर एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको देखिन्छ। 

मंसिर १६, २०८० शनिबार २२:४३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।