कान्तिपुरमा आन्दोलनबारे महासंघ नै विभाजित, अध्यक्षले सम्झौता गरे, कोषाध्यक्ष र सदस्य धर्नामा बसे

कान्तिपुरमा आन्दोलनबारे महासंघ नै विभाजित, अध्यक्षले सम्झौता गरे, कोषाध्यक्ष र सदस्य धर्नामा बसे

काठमाडौँ : नेपाल पत्रकार महासंघ र कान्तिपुर प्रकाशन प्रालीविच आन्दोलन टुङ्ग्याउन भएको सहमति धोका भएको भन्दै श्रमजीवी पत्रकारहरूले आन्दोलन जारी राखेका छन्।

शुक्रवार महासंघ केन्द्र र ब्यवस्थापनपक्षविच सहमति भएको भन्दै महासंघ केन्द्रले एकाएक आन्दोलन रोकेको थियो। तर गैर कानुनी निष्कासनमा परेका पत्रकारहरूले शनिवार पनि आफ्नो आन्दोलन जारी राख्दै कान्तिपुर दैनिकको थापाथलीमा रहेको कार्यालयमा धर्ना दिएका थिए।

महासङ्घका पदाधिकारीहरूले कान्तिपुर आन्दोलन समन्वय समितिसँग समन्वय नगरी एकतर्फी रूपमा वार्ता गरेर सहमति गरेको भन्दै उनीहरूले यसलाई धोका भएको बताइहेका छन्।

आन्दोलनरतहरूको माग सम्बोधन गर्न ठोस र कार्य तालिकासहित कान्तिपुर व्यवस्थापनले प्रतिबद्धता नजनाए पनि महासङ्घले सहमति गरेको समितिको आरोप छ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टिमले एकाएक व्यवस्थापनपक्षसँग सम्झौता गरे पनि महासङ्घकै पदाधिकारीले समेत त्यसमा असहमती जनाउँदै धर्नामा सहभागी भएका छन्।

शनिवारको धर्नामा पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य मणि दाहाल समेत संलग्न थिए।

महासंघ शुक्रवार महासङ्घका अध्यक्ष विपुल पोखरेल र कान्तिपुरका ग्रुप चिफ अफ स्टाफ शिशिर पछाइबिच चार बुँदे सहमति गरेको थियो।

सहमतिमा कानुन विपरीत गरेको पत्रकारहरूको निष्कासन, स्पष्टीकरण र सरुवा फिर्ता गर्ने, काम गर्न चाहने पत्रकारहरूका लागि सहज वातावरण निर्माण गर्ने र स्वैच्छिक अवकाशमा जान चाहनेहरूका लागि कानुन अनुसार पाउने सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख छ। श्रमजीवी पत्रकारका हकमा सबै काम प्रचलित कानुन अनुसार गर्ने सहमति भएको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

मंसिर १६, २०८० शनिबार १६:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।