हिमालय एयरलाइन्सले सुरु गर्यो काठमाडौं-साङ्घाइ सिधा उडान

हिमालय एयरलाइन्सले सुरु गर्यो काठमाडौं-साङ्घाइ सिधा उडान

काठमाडौं : हिमालय एयरलाइन्सले चीनको साङ्घाइ शहरमा शनिबारदेखि सिधा तथा नियमित उडान सुरु गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ९ः२० बजे एक सय ३७ यात्रु बोकेर हिमालय एयरलाइन्सको जहाज साङ्घाइ उडेको छ।

उक्त जहाजले आजै साङ्घाइबाट यात्रु लिएर राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ।

शनिबारबाटसुरू गरिएको उडान सातामा एक चोटी हरेक शनिबार बिहान उडान हुने कम्पनीले जनाएको छ।

साङ्घाइमा हिमालय एयरलाइन्सको यो पहिलो उडान पनि हो। योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ शहरमा उडान विस्तार गरेको छ। काठमाडौं–साङघाइ–काठमाडौं उडानमा पाँच घण्टा २० मिनेटको यात्रा हुनेछ।

उडानबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सुरु गरिएको सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो तर्क गरे।

नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरी र धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल ल्याउन उडानले मद्दत पुग्ने विश्वास राखे।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक नेपालमा बढ्ने अपेक्षा व्यक्त गरे।

मंसिर १६, २०८० शनिबार १४:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।