एमाले रूपन्देहीले संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने

एमाले रूपन्देहीले संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने
एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी

बुटवल : एमाले रूपन्देहीले झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानमा जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने भएको छ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले मंसिर २० गते गुल्मीको वामीटक्सारमा आयोजना हुने जनसभामा जिल्लाको पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको हो।

केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटीका सदस्यहरू तथा संघ, प्रदेश र पालिकाका जनप्रतिनिधि, जनसंगठनका जिल्ला पदाधिकारी र सो भन्दा माथिका पदाधिकारी र पालिका कमिटीका पदाधिकारी जनसभामा अनिवार्य सहभागी हुने निर्णय भएको एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।

नेपाल-भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाडमा एमाले अध्यक्ष ओलीले बिहीबार सूर्यचन्द्र अंकित राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका थिए।

पुस २ गते चिवाभञ्जाङ पुग्ने कार्यक्रम छ। यो अभियानका क्रममा ठाउँ-ठाउँमा आमसभा हुनेछन्।

त्यसैगरी, बैठकले भूकम्प प्रभावित रूकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ छेपारेमा अस्थायी टहरा बनाउन खटिएको रूपन्देहीको टोलीले १८ वटा अस्थायी टहरा बनाएर प्रभावित परिवारलाई हस्तान्तरण गरेकोमा खटिने कार्यकर्तालाई धन्यवाद दिएको छ।

बैठकमा प्रमुख अतिथि पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी पंक्तिलाई उत्साहका परिचालन हुन निर्देशन दिएका थिए। बैठकको अध्यक्षता तेजेन्द्र केसीले गरेका थिए।

मंसिर १६, २०८० शनिबार ०९:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।