कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलन आजबाट बुटवलमा सुरू
बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आजबाट बुटवलमा हुँदैछ।
बुटवल रामनगरमा रहेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्।
बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।
उनका अनुसार प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति सहभागी हुनेछन्।
यस्तै भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी प्रतिनिधि सहभागी हुनेछन्।
सम्मेलनको उद्घाटनको दिन आज पार्टीका नेता कार्यकर्ता समेत गरी करिब १० हजार नेता कार्यकर्ताको सहभागिता हुने कांग्रेसको दाबी छ।
सम्मेलनमा सहभागी हुन अधिकांश केन्द्रीय नेताहरू बुटवल आइपुगेका छन्। उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछन्। ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि पार्टी आगामी कार्य दिशा तय गर्ने प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए।
सम्मेलनलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरू, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
मंसिर १६, २०८० शनिबार ०८:३७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।