केपी ओली कप टी-२० को उपाधि मधेस प्रदेशलाई, आर्मी ११ रनले स्तब्ध
काठमाडौँ : विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मधेस प्रदेशले केपी ओली कप टी-२० प्रतियोगिताको उपाधि जितेको छ।
पोखरा क्रिकेट मैदानमा शुक्रवार भएको फाइनलमा आर्मीलाई ११ रनले पराजित गर्दै मधेसले उपाधि उचालेको हो।
१३६ रनको लक्ष्य पछ्याएको आर्मी २० ओभरमा सात विकेट गुमाएर १२४ रनमा समेटियो। आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले अविजित २५, भीम सार्कीले २२, सोमपाल कामीले अविजित १६ र सन्तोष कार्कीले १६ रन बनाए।
मधेसका कप्तान हरिशंकर शाहले चार, प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। मधेसका लागि विशाल पटेलले अविजित ४९ रन बनाउँदा कप्तान हरिशंकरले २७, हिमांशु दत्तले १४ र विशाल सुस्लिङ्गले १० रन बनाए।
आर्मीका विवेक यादव र शाहब आलमले तीन/तीन तथा सोमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए। प्रतियोगिताको विजेता मधेसले ५ लाख रुपैयाँ नगद र उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरे।
मंसिर १५, २०८० शुक्रबार २०:२३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।