अपाङ्ग संघमा अपराध-२ : दृष्टिहीन र मेरुदण्ड पक्षघात भएकी महिलामाथि यौन दुर्व्यवहार !

अपाङ्ग संघमा अपराध-२ : दृष्टिहीन र मेरुदण्ड पक्षघात भएकी महिलामाथि यौन दुर्व्यवहार !

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको एउटा कुनामा एक्लै घाम थापेर बस्छिन्, रिता सुवेदी (परिवर्तित नाम)। उनी जन्मदेखि नै आँखा देख्दिनन्।  उमेर ७१ वर्ष टेक्यो।

पहिला यहाँ अपाङ्गता भएका व्यक्तिहरूको लागि विभिन्न तालिम हुन्थ्यो। त्यसैले समय बितेको उनलाई पत्तै हुँदैनथ्यो। तर, अहिले केन्द्र सुनसान छ। खाना खाएपछि घाम ताप्ने र कोही आयो भने बोलिदिने बाहेक अन्य केही काम छैन।

लगभग १३ वर्षअघिको घटना सम्झँदा भने उनी निकै निराश हुन्छिन्।

घटना, २०६७ भाइटीकाको रात। रिता आफ्नो साथीहरूसँग भैली खेलेर आफ्नो कोठामा गफ गरेर बसेकी थिइन्। मैना नाम गरेको साथीसहित अन्य एक जना साथी पनि साथमै थिइन्। अहिले ती दुवै साथीको मृत्यु भइसक्यो।

त्यसबेला केन्द्रको महासचिव थिए यज्ञप्रसाद उप्रेती। उप्रेती उनीहरू भए ठाउँमा आए। उनले रिताको छातीमा हात लगाउँदै गालामा चुम्बन गरे।

रिता आत्तिइन्। उठ्न लाग्दा उनलाई काखमा राख्न खोजियो। आँखा नदेखे पनि जोगिएर बल्ल-बल्ल बाहिर निस्किइन्।

‘त्यो पनि पहिला यतैको विद्यार्थी। अनि यतै बस्ने हो। पछि रक्सी खान थाल्यो। महासचिव भएपछि त्यसले मलाई त्यसो व्यवहार गर्यो!’, घटनाको सम्झिँदै उनले भनिन्।

उनलाई यज्ञप्रसाद कस्तो देखिन्छ भन्नसमेत थाहा छैन। तर, त्यस्तो व्यवहार गरेपछि ऊ संसारकै सबैभन्दा कुरूप मान्छे भएको उनी बताउँछिन्।

‘दुई तीन जना साथीहरू पनि थिए। उनीहरू मरिसके। पहिला त उनीहरू र अरू सबै मिलेर हामीले त्यसलाई बौद्ध प्रहरीमा पनि लगेको हो। त्यो बेलामा गजेन्द्र लामा भन्ने यहाँको अध्यक्ष थिए। अरू क-कसले मसँग त्यो मिल्यो भनेर छुटाएछन्। त्यसले मसँग माफी मागेको पनि छैन’, उनी आक्रोशित सुनिइन्।

‘पैसा दिएर मिल्न भने’
‘थुनामा लगेपछि मलाई चार हजार रूपैयाँ दिएर मिल्न भनेको थिए। त्यो मान्छेको पद चैं बिर्से,’ उनी भन्छिन्, ‘मैले मानिँन। त्यसलाई थुनामा लगियो। त्यो बेला लट्ठी थिएन। मैले त हातैले हानेको पनि हुँ। पछि त दिदीजस्तो मान्छेलाई मैले काँ त्यस्तो गर्छु भन्दै थियो।’

थुनामा राखेको भोलिपल्ट यज्ञप्रसाद छुटेको उनीहरूले थाहा पाए। केन्द्रमा आएमा मोसो दल्ने तयारी गरेका थिए। तर, उनी लामो समय त्यहाँ आएनन्।

दृष्टिविहीन महिलामाथि भएको यौन दुर्व्यवहारको घटनाले निकै खैलाबैला भएको थियो केन्द्रमा। अहिले केन्द्रमा पुन: यौन दुर्व्यवहारको भएको घटना सुन्दा उनी झस्किएकी छन्।

अधिवक्ता समेत रहेका केन्द्रका आजीवन सदस्य विदुर थापाले केन्द्रमा यौन दुर्व्यवहारको घटना भएको बताए। उनका अनुसार केही हप्ताअघि मात्र मेरुदण्ड पक्षघात भएकी युवतीमाथि यौन दुर्व्यवहारको घटना भएको हो।

‘मेरुदण्ड पक्षघात भएर कम्मरदेखि तल्लो कुनै पनि भाग चल्दैन, त्यस्तो बहिनीलाई पनि उनको योनीमा औँला लगाएर दुर्व्यवहार भएछ’, उनले भने।

राष्ट्रिय महिला आयोगले केन्द्रको अनुगमनपछि यौन दुर्व्यवहारको घटना भएको र दोषीमाथि कारबाही गर्न माग गर्दै विज्ञप्ति निकालिसकेको छ। तर, अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढेको देखिएन।

त्यहाँ धेरै कुरा रहेको भन्दै आयोगका प्रवक्ता कृष्ण कुमारी पौडेल खतिवडाले छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताइन्।

केन्द्रमा मेस सञ्चालन गर्ने उषा कार्की ओलीमाथि चेपाङ बालबालिकालाई पढाउने भनेर काममा लगाएर यौन व्यवसायमा लगाएको गम्भीर आरोप समेत लागेको छ।

आयोगको अनुगमन टोलीले केन्द्रसँगै यहाँको मेस सञ्चालिका कार्कीको मेसमा पनि छापा मारेको थियो। अहिले त्यहाँ ताला लगाएको छ।

केन्द्रका अध्यक्ष साम्देन लामाले यसअघिको यौन दुर्व्यवहारको घटना धेरै पहिला भएकोले जानकारी नभएको र अहिलेको घटनाबारे पनि थाहा नभएको बताए।

मेस सञ्चालिकाले किशोरीहरूलाई यौन व्यवसायमा लगाएको आरोपबारे आफू सहमत नभएको उनले बताए।

संघले सञ्चालन गरेको केन्द्रमा राख्न भन्दै पदाधिकारीहरूले अपाङ्गता भएकाहरूको परिवारसँग पैसा असुल्ने गरेकोबारे उकेराले बुधबार समाचार प्रकाशित गरेको थियो।

संघका दुई अध्यक्षले एक परिवारका तीन जनालाई केन्द्रमा राख्न ५५ लाख रकम असुलेको  पुष्टि भएको छ।

रकम असुल्न मेस सञ्चालिका सहयोगी देखिएकी छन्। उनले नौ लाख ५० हजारको चेक दिए पनि ४४ लाख ५० हजार बाँकी छ। संघका पदाधिकारीले केन्द्रको अक्षय कोषका लागि भनेर पैसा असुल्ने गरेको पुष्टि भएको छ।

१५ मंसिर, २०८०, ०८:१९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।