केपी ओली कपको फाइनल आज, आर्मी र मधेश भिड्दै
काठमाडौं : पोखरामा जारी ‘केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्ने भएका छन्।
खेल दिउँसो साढे १२ बजे पाेखरा क्रिकेट मैदानमा हुनेछ। आर्मीको कप्तानी विनोद भण्डारीले सम्हाल्दा मधेश प्रदेशलाई हरिशंकर शाहको नेतृत्वमा खेल्दैछ।
सेमिफाइनलमा आर्मीले बागमतीलाई र मधेशले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई हराएर फाइनलमा स्थान बनाएका हुन्।
प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ।
यसैगरी उप-विजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ।
सात प्रदेश, तीन विभागीय र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई गरी सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको थियो।
तीन टिमको समूह रहेकाेमा समूह विजेता टोलीले सेमिफाइनल खेलेका हुन्।
मंसिर १५, २०८० शुक्रबार ०७:१४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।