आफ्नै देशमा नेपाली नागरिक ‘भारतीय’ काउन्टरबाट भित्रिनुपर्ने कस्तो व्यवस्थापन !

आफ्नै देशमा नेपाली नागरिक ‘भारतीय’ काउन्टरबाट भित्रिनुपर्ने कस्तो व्यवस्थापन !

काठमाडौं : शनिबार मध्यरात त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट उत्रिएका यात्रु विमानस्थलको सबै प्रक्रिया पूरा गरेर बाहिरिन तीन घण्टा लाग्यो।

विमानस्थलमा उत्रिने यात्रुहरूका लागि नेपाली, भारतीय अनि अन्यमा विभाजित गरेर प्रक्रिया अगाडि बढाइन्छ। मध्यरात नेपाली यात्रुको आगमन प्रक्रिया गर्ने कुनै काउन्टर खुला थिएनन्। सबै काउन्टर बन्द थिए।

नेपालीका लागि तोकिएको काउन्टर बन्द रहेकाले उनीहरू भारतीय नागरिकका लागि बन्दोबस्त गरिएको काउन्टरतिर गए। काउन्टरको अवस्था माछा बजार हो कि अन्तर्राष्ट्रिय विमानस्थल अलमल हुने खालकै थियो।

बन्द गरेर राखिएको नेपाली काउन्टर।अस्तव्यस्त व्यवस्थापन अनि अनियन्त्रित भीड। नेपालीका लागि राखिएको काउन्टर बन्द गरेपछि भारतीय नागरिकको प्रक्रियाका लागि राखिएको काउन्टर सबै खुल्नुपर्ने हो। त्यो पनि थिएन।

‘म देश फर्किए है’ भनेर राज्यलाई जानकारी दिनै एक घण्टा लाग्ने।

कहाँ गएको, कहाँबाट आएको लगायतका विवरण राज्यलाई बुझाएर सुरक्षा परीक्षणका लागि मेटल डिटेक्टरतिर जाँदा अर्को बिजोग।

सुरक्षा जाँच हुने ठाउँमा पनि एउटा मात्रै खुलेको। यात्रुहरू प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो बाहिर निस्कन चाहन्थे। तर विमानस्थल व्यवस्थापनलाई वास्ता थिएन।

यात्रुहरूले एउटा मात्र खोलेर के बिजोग देखाएको भनेर कराएपछि बल्ल अर्को काउन्टर खुल्यो।

सुन तस्करीको केन्द्र रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच प्रणाली काम चलाऊँ। यस्तो भिडमा जसरी सुरक्षा जाँच भइरहेको थियो त्यहाँ सुन हैन, हतियारै भित्र्याउन पनि गाह्रो थिएन।

हाइ काढ्दै बसेका कर्मचारी मन नलागी नलागी सुरक्षा जाँच गरिरहेका थिए। उनको व्यवहारले ‘यी किन आएका होलान्’ भनेर झिँजो मानेको प्रष्टै देखिन्थ्यो।

अन्तर्राष्ट्रिय विमानस्थल रे! फ्यानको धुलोसमेत सफा गरिएको थिएन, अन्तको के कुरा गर्ने।

खुल्ला रहेको अध्यागमनको दुई काउन्टरमा प्रक्रिया पुरा गर्न मध्यरात जम्मा भएको नेपाली र भारतीय नागरिकको भिड।तीन घण्टामा प्रक्रिया पूरा गरेर लगेज क्षेत्रमा त आइपुगियो। तर अब लगेज आउने कहिले हो। पत्तो थिएन।

शनिबार युरोपियन देशबाट स्वदेश फर्किएका राज घिमिरेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदाको अनुभव उकेरालाई सुनाए।

उनले त्यहाँका तस्बिरहरू समेत खिचेका थिए। तस्बिरले विमानस्थल सुधारको गफ दिने ‘भाइरल’ मन्त्रीहरूको दाबी उदाङ्गो पारिरहेको थियो।

OOO

त्रिभुवन विमानस्थलको कमजोरीमा कुनै एक मन्त्रालय मात्र जोडिएको छैन। अध्यागमन र सुरक्षा जाँच गृह मन्त्रालयसँग जोडिएको छ। सबैभन्दा बिजोग यसमै देखिन्छ।

अध्यागमन विभाग अनि नेपाल प्रहरी मातहतको विमानस्थल सुरक्षा कार्यालय दुवै गृह मन्त्रालय मातहतकै निकाय हुन्। तर यी दुवै निकायबीच कहिल्यै तालमेल देखिन्न। दुवै निकायबाट खटिने कर्मचारीहरू आ-आफ्नै तालमा देखिन्छन्।

विमानस्थलमा कुनै ठूलै आपराधिक घटना भए गृहमन्त्री दलबलसहित अनुगमन गर्न पुग्छन्। नारायणकाजी श्रेष्ठ पनि धेरै पटक पुगेका छन् अनुगमनका लागि। निर्देशन पनि दिएर आउँछन्। तर, निर्देशनको कार्यान्वयन पक्ष कस्तो छ अनुगमन हुन्न।

सुरक्षा जाँच हुने स्थानको अवस्था।विमानस्थल व्यवस्थापनको जिम्मा नेपाल उड्डयन प्राधिकरणको हो जुन पर्यटन मन्त्रालय मातहत पर्छ।

पर्यटन मन्त्री सुदन किराँती पनि विमानस्थल पुगिरहेका देखिन्छन्। तर, अनुगमनका जति नौटङ्की गरे पनि न विमानस्थलको अध्यागमन प्रशासन चुस्त हुन सकेको छ न विमानस्थल व्यवस्थापन नै व्यवस्थित छन्।

हरेक दिन विमानस्थल पुग्ने यात्रुहरू दिक्क मान्दै त्यहाँको अस्तव्यस्त पाराका तस्बिर सार्वजनिक गरिरहन्छन्, मन्त्रीहरू देखेको नदेख्यै गर्छन् र सुधार र उपलब्धिका ठूला गफ जोतिरहन्छन्।

विमानस्थलमा रहेको पंखाको सफाई।

१४ मंसिर, २०८०, २१:२२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।