प्रधानमन्त्रीको लागि दुई घण्टा अगाडि फ्लाइट सार्दा दुबई हिँडेका ३१ यात्रुको होटलमा बास (भिडियो)

प्रधानमन्त्रीको लागि दुई घण्टा अगाडि फ्लाइट सार्दा दुबई हिँडेका ३१ यात्रुको होटलमा बास (भिडियो)

काठमाडौं : दुबईमा हुने कोप २८ सम्मेलनमा सहभागी हुन साढे ११ बजेको नेपाल एयरलाइन्सको जहाजको टिकट काटेका थिए काठमाडौंका प्रज्वल विक्रम राणा।

बिहीबारबाट सुरु हुने सम्मेलनमा सहभागी हुन उनी बुधबार साँझ साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। फ्लाइट समयभन्दा तीन घण्टा अघि विमानस्थल पुगेका उनी दुबई जान पाएनन्।

विमानस्थल पुगेपछि मात्र उनले थाहा पाए, आफूले टिकट काटेको विमान त साढे ९ बजे नै उड््न लागेको रहेछ। एक घण्टामा त बोडिङ सकिहाल्छ नि भनेर उनी नेपाल एयरलाइन्सको बोडिङ गर्ने ठाउँमा पुगे।

तर, त्यहाँ कर्मचारी थिएनन्। केही सीप नचलेपछि राणा विमानस्थलमै बसे। साढे ९ बजे विमान उडेपछि आफूलाई ड्युटी अफिसर भनेर चिनाउँदै एक कर्मचारी आए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको सवारीका कारण फ्लाइटलाई दुई घण्टा अगाडि सारिएको जानकारी दिए। माथिबाट अर्डर आएको र भीभीआईपी सवारी भएपछि आफूहरूले पनि केही गर्न नसक्ने भएकाले फ्लाइट अगाडि सार्नुपरेको बताए।

‘माथिबाट अर्डर आएको र भीभीभीआईपी सवारी भएकाले हामीले पनि केही गर्न सक्दैनौं भन्नुभयो उहाँले,’ राणाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक भिडियोमा भनेका छन्, ‘तर जानकारी गराउने कुरामा आफ्नो जिम्मेवारी हो जस्तो रियाक्ट पनि गर्नुभएन।’

यसरी फ्लाइट छुट्ने राणा मात्र थिएनन्। अन्य ३१ जना थिए। ती ३१ जनाले मागेपछि कर्मचारीले एउटा लेटर दिए, जसमा भीभीआईपी सवारीका कारण दुई घण्टा अगाडि फ्लाइट सार्दा यात्रु छुटेको उल्लेख गरिएको छ।

राणा लगायत ३१ जनालाई नेपाल एयरलाइन्सले अहिले होटलमा लगेर राखेको छ। उनीहरूलाई बिहीबार दिनभर मिलाएर पठाउने भनिएको राणाले बताएका छन्।

फ्लाइट छुटेका ३१ जनामध्ये कतिपय वैदेशिक रोजगारीमा हिँडेका छन् भने कतिपय छुट्टी सकेर बिहीबार बिहान कम्पनीमा हाजिरी गर्नुपर्ने पनि छन्।

यस विषयमा एयरलाइन्सका प्रवत्ता रमेश पौडेलले सबैलाई इमेल र फोन गरेर फलाइट अघि सारिएको जानकारी गराएको दाबी गरे।

‘हामीले सार्वजनिक सूचना निकालेका हैनौँ तर सबै यात्रुलाई इमेल र फोन गरेका थियौँ,’ उनले भने, ‘त्यत्ति धेरै जना कसरी छुट्न गए अच्चमित भएका छौँ। छुटेकालाई पठाउने तयारी पनि गरिरहेका छौँ।’

तर राणा भने कुनै इमेल र फोन नआएको बताउँछन्। ‘मलाई फोन र इमेल आएकै छैन। नेपाल एयरलाइन्सको लापारवाही हो।’

प्रधामन्त्री दाहाल बुधबार साँझ कोप सम्मेलनमा भाग लिन दुवई गएका छन्। उनीसँगै जम्बो टोली पनि सहभागी भएका छन्।

मंसिर १४, २०८० बिहीबार ०९:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।