धितो भएका ऋणीलाई अब बैंकले कालो सूचीमा राख्न नपाउने

काठमाडौं : धितो भएका ऋणीलाई बैंकले अब कालो सूचीमा राख्न नपाउने भएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार ‘एकीकृत निर्देशन २०८०’ लाई संशोधन गर्दै धितो लिएका ऋणीहरूलाई कालो सूचीमा राख्ने व्यवस्थालाई खारेज गरेको हो।
‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाहरूले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ।
यस्तो धितोबाट भएको असुली पर्याप्त नभई बैंकले लिने रकम बाँकी रहे त्यसको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।
सो सूचना अवधिपछि मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
त्यस्तै, बैंकले जेभीको हकमा जेभीमा आवद्ध फर्म/कम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जेभीमा आवद्ध अन्य फर्म/कम्पनीहरूलाई कालोसूचीमा राख्न अनिवार्य हुने नहुने संशोधित व्यवस्था गरेको छ।
साथै, कालोसूचीमा नरहेका कुनै फर्म/कम्पनी अर्काे कुनै कालोसूचीमा समावेश भएको फर्म/कम्पनीसँग जेभीमा रहेका कारणमात्रै उक्त जेभीको निक्षेप खाता सञ्चालन गर्न तथा कर्जा कारोबार गर्न बाधा नपर्ने व्यवस्था गरेको छ।
बैंकले कालोसूचीमा परेको कारण सामाजिक सुरक्षा भत्ता एवं पेन्सन रकम प्राप्त गर्ने प्रयोजनका लागि खाता खोल्न बाधा नपर्ने कानूनी व्यवस्था ल्याएको छ।
यसअघि कालोसूचीमा परेका कारण धेरैको सामाजिक सुरक्षा, पेन्सन रकमसमेत रोकिएको थियो।
मंसिर १४, २०८० बिहीबार ०८:२५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।