सिद्धार्थ राजमार्ग मर्मतमा ठेकेदारको लापरवाही, ढलानमा फुसफुसे ढुङ्गा प्रयोग

सिद्धार्थ राजमार्ग मर्मतमा ठेकेदारको लापरवाही, ढलानमा फुसफुसे ढुङ्गा प्रयोग

बुटवल : सिद्धार्थ राजमार्गको मर्मतमा लापरबाही भएको पाइएको छ।

पहिरो र चुनढुंगा बोकेर आउने टिप्परले छियाछिया बनाएको सडक मर्मतमा निर्माण कम्पनीले लापरवाही भएको पाइएको हो।

डिभिजन सडक कार्यालय पाल्पाले मर्मतका लागि भनेर लगाएको ठेक्का ५ करोड ७५ लाखमा सत्यवती कन्ष्ट्रक्सन प्रालिले पाएको थियो।

जसअनुसार कम्पनीले सिद्धार्थ राजमार्गको सिद्धबाबा, प्रभास, पिपलडाँडाको सेरा लगायतका स्थानमा रिजिट पेभमेन्ट, कालोपत्र लगायतका काम गर्नुपर्ने हो।

दोभाननजिकै रेनफोर्स सिमेन्ट कंक्रिट अर्थात रिजिट पेभमेन्ट गर्ने क्रममा कम्पनीले पानीले गल्ने ढुंगा ढलानमा प्रयोग गरेपछि पर्खाल नै भत्काउन लगाइएको छ।

फुसफुसे ढुंगा राखेर ढलान गरेको भन्दै उजुरी आएपछि भएको अनुगमनमा गल्ती भेटिएपछि सच्याउन भनिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बावुराम सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार त्यस्तो गल्ती पुनः दोहोरिए भुक्तानी नै रोक्ने भनेर सचेत गराइएको छ।

‘अनुगमनमा हामी गयौँ। त्यहाँ जाँदा स्याण्ट स्टोन प्रयोग गरेको भेटियो। त्यसपछि त्यसलाई हटाएर नयाँ बलियो ढुंगा राखेर मात्र ढलान गर्न भनिएको छ’, उनले भने।

सत्यवती कन्ष्ट्रक्सन प्रालिका प्रतिनिधि निम्नप्रसाद ढकालले गल्ती स्वीकार्दै त्यसलाई सच्याउने प्रतिबद्धता जनाए।

मंसिर १३, २०८० बुधबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।