राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते

काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

निर्वाचन आयोगको परामर्शपछि माघ ११ गतेको लागि मिति तोकिएको शर्माले बताइन्।

राष्ट्रिय सभामा एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते सकिँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिनअघि अर्थात माघ १५ गतेसम्म निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।

मंसिर १३, २०८० बुधबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।