रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु, सेनाले १५ नोभेम्बरमै पठाएको थियो ‘डेथ सर्टिफिकेट’

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु, सेनाले १५ नोभेम्बरमै पठाएको थियो ‘डेथ सर्टिफिकेट’

काठमाडौं : रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। ​

मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तानको मृत्यु भएको उल्लेख छ।

उनीहरूको गत १५ नोभेम्बर गते मृत्यु भएको रुसी सेनाले टेलिग्रामार्फत ‘मेडिकल डेथ सर्टिफिकेट’ पठाएकाे दुवावासले जनाएको छ।

रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएका हुन्।

उनीहरूको गत कात्तिक २९ गते तिहारको भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका थिए।

स्याङजाका कार्की नेपाली सेनाबाट निवृत्त भएका हुन् भने दोलखाका रोक्काले भने केही वर्षअघिसम्म सशस्त्र प्रहरीमा काम गरेको र अवधि नपुग्दै राजीनामा दिएका थिए।

यस्तो थियो पत्रको व्यहोरा:-

श्री कन्सुलर सेवा विभाग
त्रिपुरेश्वर काठमाडौं।

विषय: रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएको सम्बन्धमा।

प्रस्तुत विषयमा तपसिलमा उल्लिखित नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारी सहित रुसी सेनाका अधिकारीबाट टेलिग्राम मार्फत Medical Death Certificate प्राप्त भएको छ। मृतकहरूको शव व्यवस्थापनका कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने भएकाले रुसी सेनाबाट प्राप्त Medical Death Certificate र सो को अनौपचारिक अङ्ग्रेजी अनुवाद एवं अन्य कागजात त्यहाँकाे जानकारी तथा आवश्यक कार्यार्थ यसै पत्रसाथ संलग्न गरी प्रेषित गरिएको व्यहोरा निर्देशानुसार अनुराेध छ। साथै शवको यथाशीघ्र व्यवस्थापनको लागि निजहरूको परिवार र यस राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेत निर्देशानुसार अनुराेध छ।

नाम थर           नेपालको ठेगाना
प्रितम कार्की        पुतलीबजार-५,स्याङ्जा
राजकुमार रोका      मेलुङ-६, दोलखा
गंगाराज मोक्तान      इलाम-५, इलाम

बाेधार्थ
युरोप अमेरिका महाशाखा
परराष्ट्र मन्त्रालय, काठमाडौं।

 

मंसिर १३, २०८० बुधबार ०८:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।