भारतले हार्दा ‘पाकिस्तान जिन्दावाद’को नारा लगाएको भन्दै कश्मीरका सात विद्यार्थी प्रकाउ

भारतले हार्दा ‘पाकिस्तान जिन्दावाद’को नारा लगाएको भन्दै कश्मीरका सात विद्यार्थी प्रकाउ

एजेन्सी : क्रिकेट विश्वकप २०२३ मा भारतको पराजयको खुसी मनाएको भन्दै कश्मीरको कृषि विश्वविद्यालयका सात विद्यार्थी पक्राउ परेका छन्।

यी विद्यार्थीहरू विरुद्ध यूएपीए अर्थात् गैरकानूनी गतिविधि (रोकथाम) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। इन्डियन एक्सप्रेसको समाचारअनुसार विश्वविद्यालयकै एक विद्यार्थीको उजुरीमा यो मुद्दा दर्ता गरिएको हो।

अष्ट्रेलियाली टोलीले क्रिकेट विश्वकपको फाइनल जित्दा यी कश्मीरी विद्यार्थीहरूले पाकिस्तानको समर्थनमा नारा लगाएको र उजुरी गर्ने विद्यार्थीलाई धम्की दिएको ती उजुरीकर्ता विद्यार्थीको आरोप छ।

यो विषयलाई लिएर विश्वविद्यालयको छात्रावासमा कैयौं विद्यार्थीबीच झगडा भएको समाचारमा उल्लेख छ।

विश्वविद्यालयका विद्यार्थी कल्याणका डीन डा. मोहम्मद अबुबकर अहमद सिद्दीकीले इन्डियन एक्सप्रेस पत्रिकालाई विद्यार्थीहरूलाई पक्राउ गरेको पुष्टि गरेका छन्।

उनी भन्छन्, ‘यस घटनामा सात विद्यार्थी पक्राउ परेका छन्। मसँग यस केसको बारेमा पछिल्लो जानकारी छैन। विद्यार्थीले हामीसमक्ष कुनै उजुरी गरेनन्।’

गत नोभेम्बर १९ मा भारतले खेल हारेपछि स्नातक तहका विद्यार्थीहरूबीच होस्टेलमा विवाद भएको विश्वविद्यालयसँग सम्बन्धित एक अधिकारीले बताए।

उक्त होस्टेलमा तीन सय विद्यार्थी बस्ने अधिकारीले बताए। जसमध्ये ३०-४० विद्यार्थी पञ्जाब, राजस्थान र अन्य राज्यका छन्। मंसिर १९ गते राति यी विद्यार्थीबीच झडप भएको थियो।

अधिकारीहरूका अनुसार अन्य भारतको हारपछि कश्मीरी विद्यार्थीहरूले उत्सव मनाएको अन्य राज्यबाट आएका विद्यार्थीहरूको आरोप छ।

विश्वविद्यालयका अधिकारीले भने, ‘विद्यार्थीहरूले वार्डेन वा विश्वविद्यालय प्रशासनमा गुनासो नगर्नु दुर्भाग्यपूर्ण छ। यी विद्यार्थीहरू सिधै प्रहरीमा गए। ती विद्यार्थीहरूले प्रमाण दिए वा दिएनन् भन्नेबारे प्रहरीलाई मात्र थाहा छ।’

२० वर्षीय विद्यार्थीले दायर गरेको एफआईआरका आधारमा ती छात्रहरूलाई प्रहरीले यूएपीए, आईपीसी धारा ५०५ र ५०६ अन्तर्गत पक्राउ गरेको हो।

मंसिर १२, २०८० मंगलबार ११:२७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।