प्रिमियर लिगमा उल्भ्समाथि फुलहम हावी, पेनाल्टीबाटै तीन गोल

प्रिमियर लिगमा उल्भ्समाथि फुलहम हावी, पेनाल्टीबाटै तीन गोल

एजेन्सी : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ।

गएराति भएको खेलमा फुलहमले उल्भ्सलाई ३-२ गोल अन्तरले हरायो। खेलको पहिलो हाफ एक-एक गोलको बराबरी भए पनि दोस्रो हाफमा थप तीन गोल भएको हो।

फुलहमका लागि खेलको सातौं मिनेटमा एन्टोनी रोबिन्सनको पासमा एलेक्स लोबीले अग्रता दिलाए। डिबक्सको सेन्टरबाट लोबिले प्रहार गरेको सटिक प्रहारले जाली चुमेको थियो।

त्यसपछि खेलको बाइसौं मिनेटमा उल्भ्सका म्याथूज कुन्हाले गाेल गर्दै खेललाई बराबरीमा ल्याए। जेन्ड रिच्नर बेल्लाग्रेडको क्रसमा म्याथूजले हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए।

पहिलो हाफमा अन्य अवसर बने पनि गाेल हुन सकेन। खेलको छपन्नौं मिनेटमा उल्भ्सका टम केर्नीले पेनाल्टी एरियामा फउल गरेपछि फुलहमले पेनाल्टी पाएको थियो। जसलाई विलियनले गोलमा परिणत गर्दै २-१ को अवस्थामा खेललाई लगे।

तर यो अवस्था लामो समय टिकिरहन सकेन। खेलको पचहत्तरौं मिनेटमा फुलहमका टिम रेमले पेनाल्टी एरियामा फउल गरेपछि उल्भ्सका ह्वाङ हि छाङले पेनाल्टीमार्फत खेललाई २-२ को बराबरीमा पुर्याए।

यद्यपि पुन: उल्भ्सले खेलाडिले पेनाल्टी एरियामा फउल गर्न पुगे। रेफ्रिले भीएआरमार्फत रिभ्यू गर्दा पनि पेनाल्टी पाएपछि फुलहमका विलियनले इन्जुरी समय पेनाल्टीमार्फत जित दिलाए।

जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौं स्थानमा छ।समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौं स्थानमा छ। प्रिमियर लिगमा ३० अङ्कका साथ आर्सनल शीर्ष स्थानमा छ।

मंसिर १२, २०८० मंगलबार ०७:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।