रास्वपा सांसद ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड मागेको आरोपी मोहनको राजीनामा गुपचुप स्वीकृत, छानविन प्रतिवेदन गोप्य

रास्वपा सांसद ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड मागेको आरोपी मोहनको राजीनामा गुपचुप स्वीकृत, छानविन प्रतिवेदन गोप्य

काठमाडौँ : सांसद ढाका कुमार श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाउन तीन करोड मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापालाई पार्टी सभापति रवि लामिछानेले राजीनामा गराउन लगाएको खुलेको छ।

रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेको थियो। सांसदबाट निकालिएपछि श्रेष्ठले आफूलाई मन्त्री बनाउन तीन करोड माग्नेमा थापासहितको टिम रहेको दाबी गरेपछि पार्टीले छानबिन गर्न समिति बनाएको थियो। तर समितिको प्रतिवेदन पार्टीले गोप्य राख्यो।

गोप्य राख्नुको कारण पैसा माग्नेमा थापासहित पार्टी सभापति रवि लामिछाने निकट नेताहरूको संलग्नता देखिनु थियो। उकेरालाई प्राप्त विवरण अनुसार केन्द्रीय सदस्य थापासहित उपाध्यक्ष डिपी अर्याल र अर्का केन्द्रीय सदस्य दीपक बोहोरा जोडिएका थिए।

पार्टी सभापति लामिछानेको कोर टिमले मन्त्री बनाउन आफूसँग पैसा मागेको ढाकाको दाबी आन्तरिक अनुसन्धानमा पुष्टि भयो। सो सार्वजनिकहुँदा आफू निकट नेताहरूलाई समेत कारबाही गर्न दबाब आउने भन्दै लामिछाने आफैँ कुमारलाई राजीनामा गराउन सक्रिय भएका थिए।

लामिछाने अमेरिकामा रहँदा उनलाई सहयोग गर्नेमध्येमा थापा पनि थिए। आपराधिक पृष्ठभूमि भए पनि त्यही गुन तिर्न लामिछानेले उनलाई केन्द्रीय सदस्य बनाएका थिए।

ढाका प्रकरण सार्वजनिक भएपछि आफू निकट अन्य नेताहरूलाई जोगाउन थापालाई राजीनामा गराउन लामिछानेले गरेको प्रयास सफल भयो। उनले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएपछि पार्टीले स्वीकृत समेत गरिसकेको छ। तर पार्टीले यो गोप्य राखेको छ।

महोत्तरीमा जारी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकमा समेत यसबारे औपचारिक जानकारी गराइएको छैन। तर अनौपचारिकरुपमा थापाले राजीनामा दिएको र सो स्वीकृत समेत भइसकेको अधिकांश केन्द्रीय नेताहरू जानकार छन्।

थापामाथि लागेको आरोपबारे छानबिन गर्न पार्टीले अनुशासन आयोगलाई जिम्मेवारी दिएको थियो। आयोगले आरोप पुष्टि हुने कुनै प्रमाण फेला नपरेको दाबी गर्दै अनुसन्धान टुङ्ग्याएको दाबी गरेको थियो। अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटाले थापाले पैसा मागेकोबारे प्रमाण रहेको पार्टी सभापति लामिछानेलाई जानकारी गराएपछि स्वैच्छिक राजीनामाका लागि उनलाई मनाउने उपाय अपनाएको थियो।

पार्टीले कारबाही गर्दा बदनाम हुने बरु आफैंले राजीनामा दिए पार्टीले राजीनामाको विषय समेत बाहिर नल्याउने प्रस्ताव थापासमक्ष पुगेपछि उनले यही विषयमा कारबाही हुने हो भने डिपी अर्याल र दीपक बोहोरामाथि समेत कारबाही हुनुपर्ने माग राख्दै राजीनामा दिन अस्वीकार गरे पनि अन्तमा उनले राजीनामा दिएका थिए।

विश्वस्त स्रोतका अनुसार थापाको राजीनामा स्वीकृत भइसकेको छ। उनी अहिले रास्वपामा आबद्ध छैनन्। यही बीचमा अर्का केन्द्रीय सदस्य दीपक बोहोरामाथि पार्टीकै महिला नेतृले यौन दुर्व्यवहार गरेको आरोप लगाएको विषयले लामिछाने सङ्कटमा परेका छन्।

बोहोरामाथिको आरोपको निवेदनबारे पार्टीमा औपचारिक छलफल समेत भएको छैन। निवेदन पार्टीको बागमती प्रदेशमा आएको छ। तर प्रदेश सभापति अच्युतम लामिछानेले गुपचुप राखेका छन्। यसबारे लामिछाने, पार्टी महामन्त्री मुकुल ढकाल जानकार छन्। बोहोरा टेलिभिजन कार्यक्रमदेखि नै रविका मुख्य सहयोगी हुन्। उनी बोहोरामाथि लागेको आरोपबारे छानबिन गराउन समेत राजी देखिएका छैनन्।

मंसिर १२, २०८० मंगलबार ०१:३०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।