३२ वर्षदेखि फोटो धुलाएका ‘स्टुडियोग्राफर’ गणेश भन्छन्- ‘प्रविधिले उछिन्यो, पछ्याउनै सकिनँ’
आफ्नै केहि गर्नुपर्छ भन्ने सोच आएपछि बाह्र वर्षअघि गणेशबहादुर तामाङले घरनजिकै एउटा सटर खोजे अनि थोरै लगानीमा एउटा स्टुडियो खोले र बने स्टुडियो फोटोग्राफर । तर, उनी व्यावसायिक फोटोग्राफर भने होइनन्। उनी आफैँ पनि फोटोग्राफर भनेर चिनाउन रुचाउँदैनन्।
आफ्नो स्टुडियो खोल्नुअघि उनी न्यूरोडमा फोटो धुने काम गर्थे। २०४७/४८ सालदेखि नै उनी यहि काममा सक्रिय छन्। त्यतै बसेर काम सिके, लामो समय काम गरे। क्यामरा चलाउन पनि उनले त्यतै सिकेका हुन्।
‘म स्टुडियोग्राफर’, उनले हाँस्दै भने, ‘क्यामरा चलाए पनि फोटोग्राफर त होइन। त्यस्तो भनेर फेरि फोटो खिच्दिनँ भनेको चैँ हैन। पहिला देखि नै फोटो धुने काम गरेको। अब अहिले धुने काम खासै हुँदैन। सब डिजिटलबाट नै हुन्छ। फोटो खिच्यो भन्दैमा फोटोग्राफर त के भन्नु है!’
उनको पुर्ख्यौली घर काभ्रेपलान्चोक । उनी भने यतै जन्मिए। बाले गाडी चलाउने काम गर्थे अनि आमा चैँ स्कुलमा काम गर्थिन्। त्यै भएर उनले पनि राम्रै पढाइको अवसर पाए। तर, एसएलसीसम्म पढेपछि पुग्यो भन्ने लागेछ अनि आइए पढ्दा-पढ्दै छोडेर साथीहरूसँग काम गर्न थाले।
‘त्यतिबेला एसएलसी पढ्नु नै ठूलो कुरा मानिन्थ्यो। मलाई त पढ्न पनि मन लागेन। पढेपछि पनि पैसा नै त कमाउने हो भन्ने जस्तो लाग्थ्यो। त्यै भएर पढाइ छोडेँ,’ उनी सुनाउँदै गए, ‘मेरो साथीहरू पनि यस्तै काम गर्थे। क्यामराहरू नयाँ-नयाँ आउने बेला, मलाई पनि यो काम गर्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो। साथीहरूले एउटा मान्छे खोजिरहेको छ भन्यो। त्यै भएर म त काममा लागिहाले।’
त्यसअघि उनले कहिले पनि कुनै पनि काम गरेका थिएनन्। त्यहि पसलमा काम गर्दा गर्दै सबै जाने। १८/१९ वर्ष उमेरको जोशले भरिपूर्ण गणेशले पसलमा अह्राएका सबै काम खुरुखुरु गर्थे। उनको काम नै फोटो धुने र तयार गरिदिने। एक ठाउँमा बासरा केमिकलमा रिलहरू धोएर उनको दिन बित्थ्यो अनि आवश्यक परेको बेला विभिन्न कार्यक्रम तथा बिहे लगायतको पार्टीहरूमा फोटो खिच्न पनि जान्थे।
न्यूरोडमै भएको कारण उनको काममा निकै व्यस्तता हुन्थ्यो। केहि समय त हातैले पनि धुन परेको थियो। पछि भने अटोमेटिक मेशिन आयो। केमिकल त्यसमै हालेर रिल हालेपछि त्यसले आफैँ धुन्थ्यो। रंगीन र श्यामश्वेतको फरक-फरक प्रक्रिया हुने उनले सुनाए।
‘कलरमा कि ब्ल्याकमा भनेर सोध्थ्यौँ अनि उनीहरूले भने जस्तै धुनुपर्थ्यो। त्यसबेला त फोटो हेर्नको लागि पनि धुलाउनै पर्थ्यो नि त! त्यै भएर खिचेको जति सबै धुलाउँथ्यौँ। अहिले पो हेरेर राम्रो नराम्रो भनेर छुट्याउँछौँ। अनि त्यसमा पनि राम्रो मात्र धुलाउने गर्थ्यौँ। डिजिटल हुँदै गएपछि मान्छेहरूले त फोटो धुलाउनै छोड्यो नि’, उनले भने।
पिकनिकमा र बिहेमा खिचेको सयौं फोटो धुलाएको उनी सम्झन्छन्।
‘पहिला त अझ स्टुडियोबाट नै फोटो खिच्ने मान्छे पनि लान्थे। पछि क्यामरा अलि सस्तो भए पछि त आफैँ खिचेर ल्याउँथे। हामीले खिच्ने भन्दा धुलाउनै व्यस्त हुनपर्थ्यो। तीन बाइ पाँच साइजको तीन रुपैयाँ पचास पैसा थ्यो’, उनी थप्छन्।
उनले पहिलो तलब ९०० बुझेका थिए। करिब २५ वर्षसम्म उनले अरुकै काम गरे। आफ्नै स्टुडियो खोल्ने दिन उनी सबै भन्दा खुसी थिए।
‘आफ्नो काममा धेरै सजिलो महसुस गरे। सजिलो पनि भयो। अनि डिजिटल पनि धेरै भयो नि! पहिला खर्च बढी हुन्थ्यो। केमिकल हालेर धुँदा त मिहिनेत पनि बढी पर्थ्यो,’ उनी भन्छन्, ‘तर, अहिले त खर्च र मिहिनेत पनि त्यति धेरै पर्दैन नि!’
खस्किँदै गएको स्टुडियो!
स्टुडियो खोलेको सुरूका दिनहरूमा उनले आफ्नैमा पनि धेरै काम गरे। बाहिर गएर फोटोहरू पनि खिचे। तर, मोबाइलको प्रयोग ब्यापक हुँदै गर्दा ग्राहकहरू ‘पासपोर्ट साइज’को फोटो खिच्न मात्रै स्टुडियो आउन थाले।
उनी भन्छन्, ‘केहीले धुलाउँछन्। तर, एउटा, दुईटा मात्र। नत्र सबै स्कुल, कलेज र अफिसको लागि खिच्ने मात्र छन्।’
त्यतिले पनि चलिरहेकी थियो। तर, अहिले त पासपोर्ट साइजको फोटो पनि अनलाइनबाटै पठाएर काम हुन थालेपछि भने व्यापारमा निकै गिरावट आएको उनले अनुभव गरेका छन्।
‘बिहेको सिजनमा पनि हुँदैन अहिले त! बिहे गर्ने बित्तिकै विदेश जान्छन्। कसले फोटो धुलाएर बस्छ। अनि धुलाउनेहरूले फेरि हामी जस्तोलाई किन लिन्थ्यो र! आजकल त फोटोग्राफर पनि चर्चित नै लिन खोज्छन्।’
तर, पनि उनले हिम्मत भने हारेका छैनन्। हरेक दिन बिहान छाउनीबाट पसलसम्म पुग्छन्। पूजा गरेर पसल खोल्छन्। कोहि आए भने खिचेर फोटो प्रिन्ट गर्न थाल्छन्। केहि काम नभए त्यत्तिकै टोलाएर दिन बिताउँछन् अनि बेलुका घर फर्किन्छन्।
यस्तो अवस्थामा काम बेकारमा छोडेछु जस्तो लाग्छ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘लाग्दैन। अहिले टाकनटुकुन भइहाल्छ। म यसैमा खुसी छु। अहिलेसम्म यो बाहेक अर्को काम गर्न मन लागेन। अब अहिले यो चलेन भनेर अर्को काम गर्दिनँ।’
‘प्रविधिलाई पनि दोष त दिन्न। प्रविधि पछि आए पनि धेरै अघि बढिसक्यो नि अब। त्यसलाई पछ्याउनै सकिनँ। म मात्र होइन, अरु यस्तै सानोतिनो स्टुडियोहरूको हालत त्यस्तै छ। सक्नेले त आफ्नो ब्राण्ड नै पनि त बनाएका छन् नि!’
गणेशलाई अब अर्को काम गर्न मन छैन। छोराहरू आ-आफ्नो काममा लागिसकेकाले उनी सकेसम्म यहि फोटो स्टुडियो चलाउन चाहन्छन्।
‘मलाई धेरै गर्न मन लागेन। जति हुन्छ यतिमै खुसी छु। छोराहरू सब आफ्नो खुट्टामा उभिसके। अब उनीहरूले आफ्नो लागि आफैँ गर्छन्। मलाई यतिले पुगेकै छ।’
उनको छोराहरूले पनि यो काममा भविष्य देखेनन्। नयाँ प्रविधिको युगमा आफ्नो स्टुडियोलाई विस्तार गर्न गणेश डराइरहेका छन्। त्यै भएर उनको खासै योजना छैनन्।
मंसिर ११, २०८० सोमबार १४:२३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।