बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ जडान

बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ जडान

काठमाडौं : बबरमहलको जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैलीको ‘पोलिकन क्रसिङ लाइट’ जडान गरिएको छ।

काठमाडौं महानगरपालिकाले बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्न मिल्ने यो प्रविधि  काठमाडौं जिल्ला अदालत अगाडि सोमबारदेखि सञ्चालनमा ल्याएको हो।

यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ।

एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको छ।

यात्रुको चापअनुसार समय सेटिङमा केही फेरबदल गर्न सक्ने महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठले जानकारी दिए।

‘पहिलो प्रयोगका रूपमा बबरमहलमा पोलिकन क्रसिङ लाइट जडान गरिएको छ, यो लाइट थिचेपछि ३० सेकेन्ड यात्रुले बाटो क्रस गर्न पाउँछन्,’ उनले भने, ‘त्यसपछि दुई मिनेटसम्म थिच्न मिल्दैन। उक्त समय सवारीसाधनका लागि हो।’

बबरमहलबाहेक ३५ स्थानमा यस प्रकारका लाइट जडानको तयारी महानगरले गरिरहेको छ। मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको संख्या बढी हुने ठाउँमा यस प्रकारको लाइट राखिने श्रेष्ठले बताए।

मंसिर ११, २०८० सोमबार १३:१३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।