जहाज खरिदका लागि सबै रकम एकमुष्ट तिर्ने हैन : वायु सेवा निगम
काठमाडौं : नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले जहाजको उपलब्धता र संस्थाको पुनर्संरचना एक अर्कालाई रोकेर गर्ने विषय नभएका प्रतिक्रिया दिएको छ।
संस्थाको पुनर्संरचनाबारे प्रश्न उठिरहेका बेला आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले यी दुई विषय एक अर्कालाई रोकेर गर्ने विषय नभएको बताएको हो।
निगमको दैनिक व्यवसाय सञ्चालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन जहाज आवश्यक रहेको भन्दै पुनर्संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया दिएको हो।
निगमले दुर्गम भेगमा उडाउने गरी ३ वटा ट्वीनअटर जहाज किन्दैछ। यसको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने निगमको दाबी छ।
‘६ महिनाको अन्तरमा यी जहाज ल्याइने र सबै रकम एकमुष्ट तिर्नु नपर्ने भएकाले यसको व्यवस्थापन गर्न निगम सक्षम छ’, प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निगमले पारदर्शी ढंगले जहाज खरीद प्रक्रिया अगाडि बढाएको र यसका लागि तालुक मन्त्रालयबाट अनुमति लिएको समेत बताएको छ।
यसअघि निगमको सुधारका लागि बनेका समितिहरुको प्रतिवेदनले जहाज अपरिहार्य रहेको प्रतिवेदन दिएको भन्दै निगमको गुणात्मक सुधारका लागि यी जहाज आवश्यक रहेको समेत बताएको छ।
मंसिर ११, २०८० सोमबार ०८:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।