अष्ट्रेलियाविरुद्धको टी२० सिरिजमा भारतको लगातार दोस्रो जित

अष्ट्रेलियाविरुद्धको टी२० सिरिजमा भारतको लगातार दोस्रो जित

काठमाडौं : पाँच खेलकाे टी२० आई क्रिकेट सिरिजमा घरेलु टोली भारतले अष्ट्रेलियामाथि लगातार दोस्रो जित निकालेको छ।

जितको लागि २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनाएसँगै भारतले दोस्रो खेल ४४ रनले जित्यो।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए। टिम डेविडले ३७ रन बनाए।

ओपनर स्टिभ स्मिथ र म्याथ्यु सर्टले १९–१९ रन बनाए। पहिलो खेलमा शतक बनाएका जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रनमा आउट भए। कप्तान म्याथ्यु वेड ४२ रनमा नट आउट भए।

भारतका स्पिनर रवि विश्रोई र प्रसिद्ध कृष्णाले ३ विकेट लिए। अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकएक विकेट लिए।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।

भारतको जितमा ओपनर रितुराज गायकवाडले ५८ रन बनाए भने  यशस्वी जैसवालले  ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए। 

ओपनर रितुराज गायकवाड र जैसवालले पहिलो विकेटका लागि ७७ रनको आक्रामक साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।

जैसवाल नाथन एलिसको बलमा एडम जाम्पाबाट क्याच आउट भए  दोस्रो विकेटका लागि रितुराज र इशान किशनले ५८ बलमा ८७ रनको साझेदारी गरेका थिए।

इशान किशन ५२ रनमा आउट भए। कप्तान सुर्यकुमार यादव १९ रनमा क्याच आउट भए। रिङ्कु सिंहले ९ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे।

अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए।

अब तेस्रो खेल मंगलबार गुवाहाटी, चौथो खेल शुक्रबार रैपुर र पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ।

मंसिर ११, २०८० सोमबार ०७:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।