वैशाखमा तेस्रो लगानी सम्मेलनको तयारी, प्रदेशतहमा समेत सम्मेलन गरिने अर्थमन्त्रीको भनाई
काठमाडौँ : सुस्त आर्थिक गतिविधि बढाउन सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ। २०८१ वैशाख ९ बाट दुइदिन लगानी सम्मेलन गर्न लागेको हो।
लगानी सम्मेलनमा विदेशी तथा गैर आवासीय नेपालीको लगानी भित्र्याउने र नेपालको पनि लगानी बढाउने लक्ष्य रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
‘लगानी सम्मेलन भनेको विदेशी लगानी भित्र्याउने मात्रै होइन, यसमा नेपाली लगानी बढाउने विषयलाई पनि प्राथमिकता दिइनेछ,’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले भने, ‘यसर्थ यस सम्मेलनमा विदेशी, गैर आवासीय नेपाली र नेपालीकै पनि लगानी बढाउने विषयमा जोड दिइनेछ।’
मन्त्री महतले लगानी सम्मेलन सकिएपछि पनि त्यसलाई फलोअप गर्दै निरन्तर लगानी भित्र्याउने र बढाउने योजनामा काम गर्ने बताए। उनले ठुला, मझौला तथा साना उद्योगमा लगानी ल्याउनका लागि सहजीकरण गर्दै सहज अवस्था निर्माण गर्ने स्पष्ट पारे।
‘यस तेस्रो लगानी सम्मेलनका साथमा सातै प्रदेशमा पनि लगानी सम्मेलन गर्ने तयारी रहेको छ। यसका लागि सुदूरपश्चिम र मधेस प्रदेशमा तयारी भइसकेको छ भने अन्य प्रदेशमा पनि हुँदै जानेछ,’ अर्थमन्त्री महतले भने, ‘प्रदेशमा हुने लगानी सम्मेलनले त्यहाँ सम्भावना भएका लगानीका क्षेत्र पहिचान गरी लगानी बढाउन मद्दत गर्छ।’
सम्मेलनको जिम्मेवारीहरूको विषय भने अर्को बैठकले निर्णय गर्ने महतले बताए। लगानी सम्मेलनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रचार गर्ने र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने सरकारको अपेक्षा छ।
सम्मेलन तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ। समितिको सदस्य सचिवमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट रहेका छन्। सम्मेलन तयारीको समन्वयको काम लगानी बोर्डले गर्नेछ।
त्यसैगरी, मुख्य समितिको संयोजकत्वमा समन्वयन समिति बनेको छ। लगानी बोर्डले सम्मेलनका लागि तयारी अघि बढाएको छ। सरकारले यसअघि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन गरेको थियो।
मंसिर १०, २०८० आइतबार १८:३०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।